माछाको पिकअपमा पटाकाको तस्करी! पथलैयामा ८० हजारका पटाका बरामद, दुई जना प्रहरी नियन्त्रणमा

माछाको पिकअपमा पटाकाको तस्करी! पथलैयामा ८० हजारका पटाका बरामद, दुई जना प्रहरी नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा कार्तिक १० गते:

माछा बोकेको पिकअपलाई तस्करीको माध्यम बनाउँदै अवैध रूपमा पटका ओसारपसार भइरहेको अवस्थामा प्रहरीले पथलैयाबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ। प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न सात प्रकारका ६४ डिब्बा पटाका बरामद गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान करिब ८ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित प्रहरी चेकपोइन्टमा प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअप जाँच गरेको थियो। सोही क्रममा माछासँगै लुकाइछिपाइ राखिएका पटाका फेला परेका हुन्।


प्रहरीका अनुसार बरामद पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।पटका ओसारपसारमा संलग्न रहेको आरोपमा रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माछाको आडमा पटाका ओसारपसार गर्ने प्रयास
माछाजस्तो खाद्य सामग्री बोकेको सवारीसाधनमा पटाका लुकाएर लैजाने प्रयासले सुरक्षा जाँचमा अवैध सामग्री ओसारपसारको चुनौतीलाई फेरि उजागर गरेको छ। प्रहरीले बरामद पटाका र नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
अवैध पटाकाको ओसारपसारले सुरक्षा जोखिम बढाउन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र जाँचलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।