विज्ञान परिषद्का ६ सदस्य छान्न सरकारको आह्वान, महिलाको सहभागिता अनिवार्य
काठमाडौं कार्तिक ९ गते: सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ जना सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्याएका प्राविधिक, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ र प्राज्ञसहित उद्योग–व्यवसाय क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूको नाम माग गरेको हो।
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्ले विज्ञान तथा प्रविधिको विकास, अनुसन्धानको प्रवर्द्धन, नीतिगत सुधार र स्रोत परिचालनमा मार्गनिर्देशन गर्नेछ।
परिषद्का ६ सदस्य उपाध्यक्षको सिफारिसमा अध्यक्षबाट मनोनयन हुने व्यवस्था छ। मनोनयन हुने सदस्यमध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।मन्त्रालयले योग्य व्यक्तिहरूको व्यक्तिगत विवरण (सीभी) सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नाम सिफारिस गर्न आग्रह गरेको छ। इच्छुक तथा योग्य व्यक्तिहरूको विवरण मन्त्रालयको इमेल info@mosti.gov.np मा पठाउन सकिनेछ।
विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने परिषद्मा कस्ता व्यक्तिले स्थान पाउँछन् भन्ने विषय अब चासोको केन्द्र बनेको छ। योग्य, अनुभवी र अनुसन्धानमा योगदान पुर्याएका व्यक्तिको छनोटले परिषद्को प्रभावकारिता निर्धारण गर्नेछ।