वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

पवन प्रसाद साह,वीरगंज फागुन २८ गते:

वीरगंज महानगरपालिकाको वडा नं. १० मा संचालन भइरहेको दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज तेस्रो दिनको खेलमा कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज तेस्रो दिन भएको खेलमा कर्णाली र माछापुच्छ्रेबीच मैत्रीपुर्ण ढ्ङ्गले खेल भएको थियो । उक्त प्रतियोगितामा १० ओभरको खेलमा माछापुच्छ्रेले कर्णालीलाई ९५ रनको लक्ष्य दिएको थियो भने सो लक्ष्यलाई पछ्याउँदै १० ओभर खेलेको कर्णाली जम्मा ४८ रनमै समेटिन पुग्यो । माछापुच्छ्रेले कर्णालीलाई ४७ रनले पछि पार्दै सेमिफाइनलको बाटो तय गरेको छ ।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुशिल साह कानुले अहिले वडामा खेलकुद गतिविधि बढाउन तथा बढीभन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए । युवाहरुलाई खेलप्रति रुचि बढाउनुका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिलेको आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेलिरहेको उनले बताए ।

दलित समुदायलाई अत्यावश्यक सामग्री वितरण

दलित समुदायलाई अत्यावश्यक सामग्री वितरण

मनाेज शाह, जीतपुर बारा, फागुन २८ गते:


जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ ले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो वडाभित्रका दलित समुदायलाई विभिन्न अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ को कार्यालयले वडास्तरीय दलित उत्थान कार्यक्रम बजेट शीर्षक अन्तर्गत रु. १ लाख ३० हजार बराबरको सामग्री त्यहाँका दलित समुदायलाई उपलब्ध गराएको छ ।

वडाले दलित समुदायलाई विवाह, पार्टी , गाेष्ठी आदिको लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएको छ । वडास्तरीय दलित उत्थान कार्यक्रम बजेट शीर्षक अन्तर्गत रहेर वडाले पण्डाल, टेन्ट, डायनिङ टेबल, ३० ओटा कुर्सीहरु तथा विभिन्न भाँडाकुँडाहरु लगायतको सामग्रीहरु वितरण गरेको वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चाैधरीले स्पर्श खबरलाई जानकारी दिनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भाेला अधिकारीकाे हातबाट साे सामग्रीहरु हस्तान्तरण गरिएको थियो । वडा नं. ५ ले आयोजना गरेको सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु, दलित अगुवाहरु इन्दल पासवान, सन्तोष राम  लगायतको उपस्थिति  रहेको थियोे ।

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

मनाेज शाह, जितपुर बारा, फागुन २८ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० को आयोजना गर्न लागिएको जानकारी दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ स्थित रहेको खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म प्रतियोगिता आयोजना गरिने जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारीले जानकारी दिनुभयो ।


प्रथम पटक आयोजना गर्न लागिएको क्रिकेट प्रतियोगिताको कुल लागत २४ लाख ५ हजार रहेको क्रिकेट प्रतियोगिताको संयोजक सोमबहादुर बम्जनले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगिताको सफलताको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भाेला अधिकारीले बताउनुभयो ।

 

प्रथम जीतपुरसिमरा क्रिकेट कपमा जम्मा ६ ओटा टिमहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको विजेता टिमलाई रु. १ लाख तथा उपविजेतालाई रु. ५० हजार दिइनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई जनही रु. १०/१० हजार पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० लाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने आयोजकले जानकारी दिएको छ । त्रिलोक विक्रमले सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा नेकपा एमाले मधेस प्रदेश पार्टीका सचिव मनाेज पाैडेल, संस्था अध्यक्ष लक्ष्मी तिमिल्सिना , समाजसेवी रवीन्द्र प्याकुरेल, क्रिकेट खेलाडी लगायतको उपस्थिति रहेको थियोे ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न  

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन २७ गते:
नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक आज )) रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ। बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्यविभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव समेत पारित गरेको छ। जस अनुसार
सङठन बिभाग प्रमुखमा चन्देस्वर मण्डल,स्थानिय बिकास बिभागको प्रमुखमा बिचारी यादब,जनसङठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल,प्रचार तथा प्रकाशन बिभाग प्रमुखमा आरती भण्डारी,
आर्थिक बिभाग प्रमुख महम्द कैस,पार्टी स्कुल बिभागमा शन्कर महत्तो र सहकारि तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिएको छ ।
बैठकले बर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समिकरण बनेको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूलो पार्टी भएकोहुनाले मधेस प्रदेशका जनताको चाहनालाइ ध्यान दिदै प्रदेश सरकारको नेत्रीत्व गर्ने गरि आवश्यक पहलका लागि पार्टि केन्द्रलाइ आग्रह गरेको एमाले मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।
प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र केन्द्रीय सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिब मनोज पौडेलले गर्नु भएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,सुमनराज प्याकुरेल,रामदयाल मण्डल लिलानाथ श्रेष्ठ,अच्युत मैनाली,जुली महत्तो र मञ्जु चौधरीको विशेष उपस्थिति रहेको थियो।
नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकले पारित गरेका विभिन्न प्रस्तावहरू :

१. अहिले देशमा नेकपा एमाले पहलमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा एमाले सहितको सरकार बनेको छ । यो सरकारले जनतामा सकारात्मक आशा जगाएको छ । यसले अहिले राष्ट्रियता र जनताको समस्या समाधान गर्न सकिने सम्भावना समेत देखिएको छ । नेकपा एमाले मधेस प्रदेश कमिटी यसलाई स्वागत गर्दछ र राजनीति तथा शासकीय स्थिरताका लागि सबैमा हार्दिक आग्रह गर्दछ ।
२. नेकपा एमाले प्रदेश कमिटी नयाँ सरकारलाई केपी ओली नेतृत्वको सरकारले अधि बढाएका योजना सुचारु गर्ने , वजेट कटौति गरिएका योजनामा वजेट राख्ने र भुक्तानीको व्यवस्था गरि अघि बढ्न माग गर्दछ ।
३. मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानहरुमा खानेपानीको समेत समस्या देखिएको छ । समस्याग्रस्त जिल्ला र स्थानहरुमा खानेपानीको योजना कार्यन्वयन गर्न माग गर्दछौं । साथै चुरे क्षेत्रको मरुभूमिकरण रोक्न विशेष योजना ल्याउन समेत माग गर्दछौं ।
४. मधेस प्रदेश भूमिहिन , सुकुम्वासीहरु अत्याधिक रहेको प्रदेश हो । कानुन बमोजिक भूमिहिन, सुकुम्बासी , दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानतर्फ गम्भिरतापूर्वक लाग्न माग गर्दछौं ।
५. नेकपा एमाले अहिले मधेस प्रदेशको पहिलो पार्टी हो । यसले प्रतिनिधी सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिटमा विजय हासिल गरेको छ । यो बैठक आगामी दिनमा नेकपा एमालेलाई मधेस प्रदेशमा बहुमत सहितको पार्टी बनाउने संकल्प गर्दछ ।
६. कृषि उत्पादनको दृष्टिले सर्वाधिक उर्भरभूमी रहेको मधेस प्रदेशका किसानको हकको निम्ति सुलभ कृषि रिन, मलखाद तथा सिचाँइको लागि आवश्यक व्यवस्था अहिलेको आवश्कता हो । नयाँ सरकारले किसानको समस्याको बारे विशेष कार्ययोजना ल्याओस् भन्ने माग गर्दछौं ।
७. अत्यधिक उखु किसान रहेको यस प्रदेशका विरगंज चीनी कारखाना बन्दभयो । अहिले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएको छ । यसले रौतहट, बारा, पर्साका उखु किसानहरु पिडित भएका छन् । यो बैठक सरकारसँग बन्द रहेका चिनी उद्योगहरु खोल्न जोडदार माग गर्दछ ।
८. मधेस प्रदेशमा जातीय विभेद, लिङ्गीय विभेद समेत चर्को समस्याको रुपमा देखिएको छ । कतिपय स्थानमा यो अझै जटिल सामाजिक समस्याको रुपमा प्रकट हुने गरेको छ । नेकपा एमाले सबै खाले विभेदको अन्त्य र सामाजिक न्यायको लागि काम गर्न सरकारसँग जोडदार माग गर्दछ ।
९. मधेस प्रदेशका कतिपय स्थानमा अहिले पनि हुलाकी राजमार्ग निमार्णमा समस्या देखिएको छ । तामागढी, सिम्रौनगढ सडकको मुअब्जा नपाएका कारण अझै केही समस्या देखिएको छ । हामी सबै समस्याको हल गरि हुलाकी राजमार्ग निमार्ण कार्य तत्काल सम्पन गर्न माग गर्दछौं ।
१०. देशका दुग्ध उत्पादक किसान आन्दोलनको क्रममा छन् । उनीहरुको दुधको रकम भुक्तानी गर्न बाँकी रहेको छ । माछा किसानहरुको समस्या यथावतै छ । कृषि उत्पादन क्षेत्रमा लागेका किसानहरुको खेतमा सिँचाइ पुर्याउने कुरा अरु चुनौतिपूर्ण छ । सुनकोशी –मरिन तथा सुनकोशी – कमला ड्राइभर्सन सिचाँइ योजनालाई गति दिन आवश्यक छ । यसतर्फ तत्काल ध्यान दिन र समस्याको समाधान गर्न जोडदार माग गर्दछौं ।
११. कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । कोशी टप्पु वन्यजन्तु आरक्षको सृदिढीकरण गर्नु आवश्यक छ भने पर्सा राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा वन्यजन्तुको आक्रमणका कारण मानविय तथा पशुधनको क्षति भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदम चालियोस् ।
१२. मिटर व्याज पिडितहरु न्याय माग्दै काठमाडौंसम्म जानुपर्ने स्थिति बन्यो । यो राम्रो होइन । सरकारले मिटर व्याज पिडितहरुको समस्या तत्काल समाधान गर्नुपर्छ ।
१३. मुलुकको विकासको संभावनाका अनेक ढोकाहरु खोल्न सक्ने निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण जुनसुकै सरकार र राज्यका अंगहरुको प्राथमिकताको विषय हुनु आवस्यक छ । अहिलेको सरकार जनताको विकाशको चहाना पुरागर्ने सरकार हो । यसैले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नको सरकारसँग जोडदार माग गर्दछौ । यसैगरी तराई मधेशलाई काठमाडौंसँंग जोड्ने काठमाडौं निजगढ फास्टट्रयाक निर्माण कार्य समयमै सम्पन्न गर्न माग गर्दछौ ।
१४.बैठकले बर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समिकरण परिवर्तन भएको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठूलो पार्टी भएकोहुनाले मधेस प्रदेशका जनताको चाहनालाइ ध्यान दिदै प्रदेश सरकारको नेत्रीत्व गर्ने गरि आवश्यक पहलका लागि पार्टि केन्द्रलाइ आग्रह गरेको छ ।
१५. बैठकले नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकको व्यवस्थापनमा जुटेर बैठकलाई सफल बनाएकोमा नेकपा एमाले जिल्ला कमिटी रौतहट र नगर कमिटी चन्द्रपुरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी

किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २७ गते

जीतपुरसिमरा उपमहानगरपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । स्थापनाकालको ८ औं वसन्त पार गर्दै यस कार्यालयले विभिन्न चुनौतीहरुको सामना गर्दै आफूलाई समाजमा अब्बल रुपमा स्थापित गर्न सफल भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले प्रमुख अतिथिको रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, एस्. पी. सुरेन्द्र काफ्ले, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, पूर्व संविधानसभा सदस्य मधु शाही ठकुरी, पूर्व गा. वि. स. अध्यक्ष कृष्णव्रत सिंह, विभिन्न राजनैतिक दलका अगुवा, विभिन्न वडाका वडाध्यक्ष, , जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी साह लगायत ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आफू पनि किसानकै छोरी भएकोले गर्दा प्रत्येक घरघरको किसानहरुको दु:ख, पीडा आफूले नजिकबाट बुझेको कुरा उल्लेख गर्दै किसानहरुको समस्यालाई आफ्नै समस्या ठानी ती समस्याहरुको समाधानको लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उहाँले दाबी गर्नुभयो । संघीयताकै फलस्वरुप महिला, मधेसी, आदिवासी, जनजाति लगायतले अगाडि बढ्ने अवसर पाएको कुरामा समेत उहाँले जोड दिनुभयो ।

 

विगतमा राज्यबाट उपेक्षा गरिएका गरिब एवम् निमुखा कृषकहरुको प्रत्येक योगदानको कदर गर्दै मुलुकका कुनाकुनामा रहेका कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज आफ्नो कार्यकालमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । नेपालमा किसानको योगदानलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा दीगो विकासकाे बजेट विनियाेजन गर्नुका साथै किसानहरुको लागि फाइदा हुने हरेक क्षेत्रमा आफूले काम गर्ने उहाँले घोषणा गर्नुभयो । अन्य मुलुकहरुबाट भित्रिने कृषि तथा खाद्यान्न सामग्रीका कारण स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीहरुले उचित मूल्य तथा स्थान नपाएको गुनासो पोख्दै यसको समाधानको बाटो आफूले चाँडै निकाल्ने कुरा मन्त्री साहले बताउनुभयो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो ८ औं स्थापना दिवसको उपलक्ष्यमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन गर्ने निर्णय

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन गर्ने निर्णय

पवन शाह वीरगंज, २६ फागुन

कानु समाज नेपाल पर्साको बैठक आज पोखरीयामा सम्पन्न भएको छ । समाजका पर्सा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पनन बैठकले चैत्र ९ गते वीरगंजमा होली मिलन समारोह गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले कानु समाजको १४ वटै पालिकाहरुमा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । होली मिलन समारोहको समाजले आर्थिक व्यवस्थापन आफै गर्ने निर्णय समेत गरेको समाजका सल्लाहकार अकलेश कुमार साहले जानकारी दिए । “ बिगतको बर्षझै यसबर्ष पनि होली मिलन समारोहलाई निरन्ता दिने निर्णय गरेका छौ र यसका लागि आर्थिक व्यवस्थापन पनि समाजले नै गर्ने निर्णय गरेका छौ” साहले भने । साथै कानु स्वजातियबाट संघिय कृषि मन्त्रीको रुपमा ज्वाला साह मन्त्री बनेकोमा समाजले खुशी व्यक्त गरेको छ । बैठकमा उपाध्यक्ष सोनालाल साह ,सचिव श्रवण साह, सह सचिव सुरेन्द्र साह, सदस्यहरु राजन साह, दयानन्द गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

नियमनकारी निकाय सुस्त हुँदा पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै

नियमनकारी निकाय सुस्त हुँदा पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै

रंजित चौरसिया,पाेखरिया  फागुन २६ गते।

बेलाबेलामा पर्सामा भ्रष्टाचारको घट्नाहरुले चर्चा पाइरहेका हुन्छन् । यहाँका कुनै पनि निकाय भ्रष्टाचारको पासोबाट मुक्त छैन । पर्सा जिल्लाकै पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारको मामिलामा ताण्डव नै मच्चाएको स्थानीयहरुले आरोप लगाएका छन् । श्रीवास्तवका कारण पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै गएको स्थानीयहरुले गुनासो गरेका छन् ।

आफ्नो पदीय गरिमाको ख्यालै नगरी अधिकृत श्रीवास्तवले भुजापकौडीको पसलदेखि लिएर चिया नास्ता लगायतका ठाउँहरुबाट पनि कमिशन असुल्ने गरेको बताइन्छ । पोखरिया नगरपालिकामा दशौं तह (उपसचिव)को दरबन्दी भए पनि सातौं तहमा कार्यरत्त श्रीवास्तवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिझाउँदै निमित्त हाकिम बन्न सफल भएको सोही कार्यालयका कर्मचारीहरु बताउँछन् ।

पोखरिया नगरपालिकामा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएता पनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुरबीच आपसी मनमुटाव सिर्जना गर्दै मेयरको सहयोगमा आफ्नो रोटी सेक्दै निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाइ रहेको छ ।

सबैलाई रिझाउन खप्पिस अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सनको ७ औं तहको कर्मचारी भए पनि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भेटी चढाउँदै आफ्नो म्याद थप्न लगाई आगामी आषाढ मसान्तसम्मको म्याद थप गराएको ती स्रोतको भनाइ रहेको छ ।

भ्रष्ट अधिकृत श्रीवास्तवले नगरपालिकाको प्रत्येक भुक्तानी हुनु भन्दा अगाडि अनिवार्य पर्सनल कमिशन (पिसि) बुझेपछि मात्र भुक्तानी दिने गरेको बताइन्छ । भ्रष्टाचारको मामिलामा गन्हाइसकेका अधिकृत श्रीवास्तवले जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा जिन्सीको सामान नै नल्याइकन बिल मात्र राखी लाखौं लाख भुक्तानी गरेको स्रोतले जनाएको छ ।

अधिकृत श्रीवास्तव र जिन्सी प्रमुख साहले प्रायः साँझ रक्सीको मातमा योजना बनाउने र सोही योजना अनुसार बिना सामानको बिल मात्र राखी भुक्तानी गर्ने गरेको ती स्रोतको भनाइ रहेको छ । कमिशन र घुसको मामिलामा आतंक मच्चाउँदै आएका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब दुई महिना अगाडि बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाइ रहेको छ ।

पोखरिया नगरपालिकामा अपरेटर र सुपरवाइजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई भ्रष्ट अधिकृत श्रीवास्तवले नियुक्ती दिएको स्रोतको कथन रहेको छ । जसमध्ये २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेको कारण सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने हरेको स्रोतले जनाएको छ ।

हेल्थ ईन्सपेक्सनको  कर्मचारीलाई प्रशासन सम्बन्धी खासै अनुभव नभएतापनि संघीय मन्त्रालयमा लाखौं लाख खर्चेर हाकिम बन्न सिपालु रहेका अधिकृत श्रीवास्तवलाई कार्यालयका कर्मचारीहरुले नै भ्रष्टाचारी हाकिम भन्ने गरेको एक ठेकेदारले बताए ।

भ्रष्टाचार कसरी गर्ने बारेमा सूक्ष्म अनुभव बोकेका अधिकृत श्रीवास्तवको कालाकर्तुतले पोखरिया नगरपालिका बदनाम हुँदै गए पनि मेयर चौहान, उपमेयर ठाकुर लगायतका जनप्रतिनिधिहरु संवेदनशील नहुँदा नगरपालिका थप बदनाम हुँदै गएको पोखरियावासीहरुको कथन रहेको छ ।

जिन्सीमा अवैध भुक्तानी, पदरिक्त नभए पनि कर्मचारीहरुको बिना सूचनाको भर्ना, विकास निर्माण, सामाजिक विकास तथा लक्षित वर्गको कार्यक्रम लगायतका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा अधिकृत श्रीवास्तवले “दिन दुगुना रात चौगुना” एनि हाउ पैसा कमाउ अभियानमा सक्रिय नै रहेको स्रोतको कथन रहेको छ । यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

 

पवन प्रसाद साह/वीरगंज

आज शनिबारका दिन वीरगन्ज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा  स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० को शुभारम्भ भएको छ ।  वीरगन्ज महानगरपालिका वडा नं १० को वडा समिती तथा घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा  उक्त प्रतियोगिताको शुभारम्भ भएको हो ।

आजबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी गणेश लाठले यस ठाउमा आएर आफू पनि युवा भएको महसुस गरेको बताए । २०३९/४० साल  तिर आफू जिल्लाको तर्फ बाट कराते  खेलको लागि चुनिएर पोखरा गएको र त्यो समयमा सरकारले दिनको पचहत्तर रुपैया भत्ता दिने गरेको थियो । तर अहिलेको सरकारले खेलाडीहरु लाई केही पनि नदिएको गुनासो गरे । यस्तो अवस्थामा हामी खेलाडीहरु संग अन्तर्राष्ट्रिय स्तरमा चमत्कार गरोस भनेर अपेक्षा गर्छौ यो कदापी हुन नसक्ने बताए । त्यस्तै वडा नं १० का वडा अध्यक्ष  सुसिल  साह कानु ले  शुरु गर्नु  भएको वडा स्तरिय क्रिकेट खेलको प्रशन्सा गर्दै उनले खेल जगतले युवाहरुको जीवन लाई सपार्नुका साथै अनुशासनमा बस्ने गुण सिकाउन ठूलो भुमिका खेल्ने बताए ।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले  अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए ।

आज भएको उदघाटन खेलमा यस वडा नं १० मा रहेको  सातजना बिधालयले मार्च पासको प्रदर्शन गरेका थिए । मार्च पास प्रदर्शनमा  प्रथम स्थान माउन्ट मकालु मा. बिधालयले हासिल गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमस राम चरण पन्नालाल मा.बि र लिटल एनंजल मा.बि ले प्राप्त गरेका थिए । सहभागी  बिधालयहरु लाई सिल र सम्मान पत्र ले सम्मानित गरिएको थियो ।

आज भएको  उदघाटन कार्यक्रममा विशिष्ट अतिथिमा प्रमानन्द साह कानु , अशोक टेमानी , ठाकुर राम कलेज का प्रमुख रंजित यादव सहभागी रहेका थिए । त्यस्तै अतिथीहरु वडा समिती वडा नं १० क सदस्य  सन्तोष जे. सि चौला गाई , प्रभु महतो , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष कानु , सचिव संतोष साह , पन्नालाल मा. बि का शिक्षक बिनोद गिरी , घडिअर्वा छठ पुजा समिती का अध्यक्ष दिलिप कानु लगायतको उपस्तिथि रहेको थियो ।

आज भएको उदघाटन खेलको सुरुमा वडा नं १० का वडा समिति र घडिअर्वा स्पोर्ट्स क्लब बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १० ओभर को खेलमा वडा नं १० को वडा समितीले १०० को लक्ष्य दिएको थियो जसमा वडा अध्यक्ष सुसिल साह कानु ले व्यक्तगत ३१ रन जोडेका थिए भने दिपु कलवार ले ३०  रन जोडेका थिए । १०१ रनको लक्ष्य पाएको घडिअर्वा स्पोर्ट्स क्लबले ९ ओभरको समाप्ति मा उक्त लक्ष्य लाई हासिल गरि बिजय भएको थियो ।

 

चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा

चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा

मनाेज शाह जितपुर बारा, फागुन २६ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार चर्चित गायीका ज्योती मगरले प्रस्तुती दिने छिन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज शनिबार चर्चित गायीका ज्योती मगर सहित आधुनिक गायक देवेन्द्र काकी, चर्चित ब्याण्ड रुपमा परिचित पनम ब्याण्डले समेत प्रस्तुती राख्ने छ ।
मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।

अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी

अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी

मनाेज शाह, जितपुर बारा, फाल्गुन  २६ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १० नितनपुरमा अत्याधुनिक प्रविधि जडान भएको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. को स्थापना भएको छ । हालसम्म जनताहरुले अनेकौं समस्या भोग्नुपरिरहेका बेलामा यस उद्योगले उपलबध गराउने छिटोछरितो र गुणस्तरीय सेवाबाट सबैले समस्याबाट मुक्ति पाउने जनविश्वास लिइएको छ ।

समयमा काम पूरा नहुने, भएको काम पनि गुणस्तरहीन हुने, महँगो पैसा तिरेपनि चित्तबुझ्दो प्रतिफल प्राप्त नहुने जस्ता चुनौतीहरुको सामना गर्न बाध्य यस भेगका जनताहरुको लागि अत्याधुनिक प्रविधि जडान भएको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. वरदान साबित हुनेछ । बारा जिल्लामै सम्भवतः सबैभन्दा ठूलो लगानीमा स्थापित यस उद्योगले आफूलाई भौतिक निर्माण क्षेत्रमा अब्बल साबित गर्दै यहाँको जनताहरुलाई आफ्नो अत्याधुनिक प्रविधिबाट छिटोछरितो , सन्तोषजनक तथा गुणस्तरीय सेवा उपलब्ध गराउन प्रयासरत रहने संचालकको एकमात्र उद्देश्य रहेको छ ।

ठुलो लगानीमा बाराको नितनपुर चौकमा स्थापित रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. ले रेडिमिक्स कन्क्रीट अर्थात् तयारी ढलान उत्पादन गर्ने र कार्य स्थलमा डेलिभरी गर्ने तथा घरदैलोमै सुपथ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराई निर्माण क्षेत्रमा योगदान पुर्‍याउने आफूहरुको एकमात्र लक्ष्य रहेको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. का डाइरेक्टर सन्तोष कुश्वाहाले जानकारी दिए । बारामा स्थापना भए पनि यसको कार्य क्षेत्र विस्तार गर्दै लैजाने र बारा, पर्सा, रौतहट, मकवानपुर लगायतका क्षेत्रमा पनि सेवा उपलब्ध गराउने दीर्घकालीन योजना रहेकोले अन्य जिल्लाका जनताहरु पनि लाभान्वित हुने विश्वास सन्तोष कुश्वाहाले व्यक्त गरेका छन् ।