नियमनकारी निकाय सुस्त हुँदा पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै
रंजित चौरसिया,पाेखरिया फागुन २६ गते।
बेलाबेलामा पर्सामा भ्रष्टाचारको घट्नाहरुले चर्चा पाइरहेका हुन्छन् । यहाँका कुनै पनि निकाय भ्रष्टाचारको पासोबाट मुक्त छैन । पर्सा जिल्लाकै पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारको मामिलामा ताण्डव नै मच्चाएको स्थानीयहरुले आरोप लगाएका छन् । श्रीवास्तवका कारण पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै गएको स्थानीयहरुले गुनासो गरेका छन् ।
आफ्नो पदीय गरिमाको ख्यालै नगरी अधिकृत श्रीवास्तवले भुजापकौडीको पसलदेखि लिएर चिया नास्ता लगायतका ठाउँहरुबाट पनि कमिशन असुल्ने गरेको बताइन्छ । पोखरिया नगरपालिकामा दशौं तह (उपसचिव)को दरबन्दी भए पनि सातौं तहमा कार्यरत्त श्रीवास्तवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिझाउँदै निमित्त हाकिम बन्न सफल भएको सोही कार्यालयका कर्मचारीहरु बताउँछन् ।
पोखरिया नगरपालिकामा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएता पनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुरबीच आपसी मनमुटाव सिर्जना गर्दै मेयरको सहयोगमा आफ्नो रोटी सेक्दै निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाइ रहेको छ ।
सबैलाई रिझाउन खप्पिस अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सनको ७ औं तहको कर्मचारी भए पनि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भेटी चढाउँदै आफ्नो म्याद थप्न लगाई आगामी आषाढ मसान्तसम्मको म्याद थप गराएको ती स्रोतको भनाइ रहेको छ ।
भ्रष्ट अधिकृत श्रीवास्तवले नगरपालिकाको प्रत्येक भुक्तानी हुनु भन्दा अगाडि अनिवार्य पर्सनल कमिशन (पिसि) बुझेपछि मात्र भुक्तानी दिने गरेको बताइन्छ । भ्रष्टाचारको मामिलामा गन्हाइसकेका अधिकृत श्रीवास्तवले जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा जिन्सीको सामान नै नल्याइकन बिल मात्र राखी लाखौं लाख भुक्तानी गरेको स्रोतले जनाएको छ ।
अधिकृत श्रीवास्तव र जिन्सी प्रमुख साहले प्रायः साँझ रक्सीको मातमा योजना बनाउने र सोही योजना अनुसार बिना सामानको बिल मात्र राखी भुक्तानी गर्ने गरेको ती स्रोतको भनाइ रहेको छ । कमिशन र घुसको मामिलामा आतंक मच्चाउँदै आएका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब दुई महिना अगाडि बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाइ रहेको छ ।
पोखरिया नगरपालिकामा अपरेटर र सुपरवाइजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई भ्रष्ट अधिकृत श्रीवास्तवले नियुक्ती दिएको स्रोतको कथन रहेको छ । जसमध्ये २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेको कारण सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने हरेको स्रोतले जनाएको छ ।
हेल्थ ईन्सपेक्सनको कर्मचारीलाई प्रशासन सम्बन्धी खासै अनुभव नभएतापनि संघीय मन्त्रालयमा लाखौं लाख खर्चेर हाकिम बन्न सिपालु रहेका अधिकृत श्रीवास्तवलाई कार्यालयका कर्मचारीहरुले नै भ्रष्टाचारी हाकिम भन्ने गरेको एक ठेकेदारले बताए ।
भ्रष्टाचार कसरी गर्ने बारेमा सूक्ष्म अनुभव बोकेका अधिकृत श्रीवास्तवको कालाकर्तुतले पोखरिया नगरपालिका बदनाम हुँदै गए पनि मेयर चौहान, उपमेयर ठाकुर लगायतका जनप्रतिनिधिहरु संवेदनशील नहुँदा नगरपालिका थप बदनाम हुँदै गएको पोखरियावासीहरुको कथन रहेको छ ।
जिन्सीमा अवैध भुक्तानी, पदरिक्त नभए पनि कर्मचारीहरुको बिना सूचनाको भर्ना, विकास निर्माण, सामाजिक विकास तथा लक्षित वर्गको कार्यक्रम लगायतका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा अधिकृत श्रीवास्तवले “दिन दुगुना रात चौगुना” एनि हाउ पैसा कमाउ अभियानमा सक्रिय नै रहेको स्रोतको कथन रहेको छ । यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग मोबाईल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।