घण्टीमाई साकोसको १४औँ साधारण सभा सम्पन्न, पत्रकार एस.एस. पटेलसहित उत्कृष्ट सदस्य सम्मानित

घण्टीमाई साकोसको १४औँ साधारण सभा सम्पन्न, पत्रकार एस.एस. पटेलसहित उत्कृष्ट सदस्य सम्मानित
औराहामा आयोजित सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता र ज्येष्ठ सदस्यलाई पनि सम्मान
स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित देवआश्रम पार्कमा सम्पन्न भएको छ।


सभाले उत्कृष्ट सदस्यहरूको योगदानको कदर गर्दै पत्रकारितादेखि बचत, ऋण कारोबार र बाल बचतसम्म विभिन्न विधामा सम्मान प्रदान गरेको छ।
कार्यक्रममा घण्टीमाई साकोस पत्रकारिता पुरस्कारबाट जानकारी नेपालका सञ्चालक एस.एस. पटेल नगदसहित सम्मानित भएका छन्। त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ लक्ष्मण सापकोटा र सुभद्रा घिमिरे, बाल बचतकर्तातर्फ अनमोल गिरी तथा उत्कृष्ट ऋणीतर्फ पवित्रा कुमारी खनाल सम्मानित भएका छन्।यसैगरी संस्थाका ज्येष्ठ सदस्य बामबहादुर सिलवाल र लीलादेवीलाई समेत सम्मान गरिएको छ।


संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न सभामा ज्येष्ठ सदस्य बामबहादुर सिलवाल प्रमुख अतिथि रहेका थिए। पूर्व प्रदेशसभा सदस्य सुन्दर बी.के. र पूर्व लेखा समिति संयोजक डम्बर खड्कालगायतले सहकारीको भूमिका र सदस्यहरूको सहभागिताबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वर्षाका बाबजुद पनि सेयर सदस्यहरूको उल्लेख्य उपस्थितिले संस्थाप्रतिको विश्वास र अपनत्व झल्काएको आयोजकले जनाएको छ।
संस्थाका सचिव त्रिलोक विक्रम शाहले तयार पारेको वार्षिक तथा आर्थिक प्रतिवेदन अध्यक्ष सिम्खडाले प्रस्तुत गरेकी थिइन्। उपाध्यक्ष भुपप्रसाद ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन प्रबन्धक नवीन खड्काले गरेका थिए।
साधारण सभामार्फत संस्थाले सदस्यहरूको बचत वृद्धि, आर्थिक सशक्तीकरण र सहकारी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ