मधेस आन्दोलनको उपलब्धिमाथि प्रश्नैप्रश्न : सत्तामा पुगेपछि मधेसी दल फुटे, सहिद परिवारले के पाए?
स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते
मधेसको अधिकार र पहिचानका लागि भएका आन्दोलनबाट राजनीतिक नेतृत्वले सत्ता र पद पाए पनि आम मधेसी जनता तथा आन्दोलनका सहिद परिवारले के पाए? यही गम्भीर प्रश्नसहित बाराको कलैयामा ‘मधेस : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेस आन्दोलनको समीक्षा’ विषयक कार्यक्रममा मधेस आन्दोलनका उपलब्धि, राजनीतिक नेतृत्वको भूमिका, मधेसी जनताको वर्तमान अवस्था र आगामी राजनीतिक दिशाबारे खुलेर बहस भएको थियो।
युवा नेता सञ्जय यादवको सभापतित्वमा सुरु भएको कार्यक्रममा सहभागी वक्ताहरूले मधेसी जनताको नाममा राजनीति गर्ने नेताहरूको कार्यशैलीमाथि कडा प्रश्न उठाएका थिए।‘मधेसीको नाममा नेता बने, सत्तामा पुगे; तर मधेसी जनताका लागि के गरे?’ भन्ने प्रश्न कार्यक्रममा प्रमुख रूपमा उठेको थियो। मधेसी दलहरू सत्ता प्राप्तिपछि एकजुट भएर अधिकारका मुद्दा उठाउनुभन्दा आपसी फुट र विभाजनमा अल्झिएको सहभागीहरूको आरोप थियो।

कार्यक्रममा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको तस्बिरमा माल्यार्पण गरिएको थियो। परिवर्तनका लागि बलिदान दिने सहिदहरूको योगदान स्मरण गर्दै सहभागीहरूले सहिद परिवारको सम्मान, संरक्षण र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियामा पूर्वमाननीय विक्की यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता श्याम गुप्ता, पूर्वउपमेयर इन्दुदेवी श्रम पार्टी बारा जिल्ला अध्यक्ष भुलाउन पसवान लगायत विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा युवाहरूको सहभागिता थियो।
सयौँको संख्यामा सहभागी रहेको कार्यक्रमले मधेस आन्दोलनको इतिहास सम्झिने मात्र होइन, आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्दै अबको मधेस कस्तो हुनुपर्छ भन्ने बहसलाई समेत अघि बढाएको छ।
आन्दोलनमा युवाले रगत बगाए, नेताले सत्ता पाए; अब सहिदका सपना पूरा गर्ने जिम्मेवारी कसले लिने? कलैयाको अन्तरक्रियाले मधेसको राजनीतिसामु यही प्रश्न तेर्स्याएको छ।सञ्जय यादवको भनाइ : मधेस आन्दोलनले मधेसीलाई राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवसरसहित अधिकार दिलायो
कार्यक्रमका सभापति युवा नेता सञ्जय यादवले मधेस आन्दोलनलाई उपलब्धिविहीन भन्न नमिल्ने बताए। उनले मधेस आन्दोलनकै कारण मधेसी समुदायले राज्यका महत्वपूर्ण पदमा पुग्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै नेपालमा मधेसी समुदायबाट राष्ट्रपति तथा प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनु पनि आन्दोलनको उपलब्धि भएको धारणा राखे।
उनले मधेस आन्दोलनले मधेसी जनताको हक, अधिकार र पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, आन्दोलनका उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।