समाचार लेखेकै भरमा पत्रकारमाथि प्रहरी धरपकड! सरकारको कदम प्रेस स्वतन्त्रतामाथिको प्रहार : आजपा प्रवक्ता साह

समाचार लेखेकै भरमा पत्रकारमाथि प्रहरी धरपकड! सरकारको कदम प्रेस स्वतन्त्रतामाथिको प्रहार : आजपा प्रवक्ता साह
काठमाडौं, १४ कात्तिक। समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले कडा आपत्ति जनाएका छन्। उनले पत्रकारलाई प्रहरी लगाएर तर्साउने सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गर्दै सरकारको कदमलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार बताएका छन्।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले नयाँ पत्रिका, नेपाल प्रेस र दियोपोस्टको कार्यालयमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडलाई राज्यसत्ताको दमनकारी चरित्रको संज्ञा दिएका छन्।
सरकारका कमजोरी र असफलतामाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई प्रहरी परिचालन गरेर दबाउन खोज्नु कायरतापूर्ण शैली भएको उनको आरोप छ। लोकतन्त्रमा सरकारको आलोचना गर्नु, प्रश्न सोध्नु र समाचार लेख्नु अपराध नभएको उनले स्पष्ट पारेका छन्।साहले पत्रकारमाथि धरपकड गर्ने प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेका छन्। प्रहरीको स्वेच्छाचारी गतिविधिका कारण घटना भएको हो भने सम्बन्धित अधिकारीलाई कारबाही गर्नुपर्ने र सरकारकै निर्देशनमा धरपकड गरिएको हो भने प्रधानमन्त्री तथा गृहमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने उनको माग छ।
सत्ताबाहिर हुँदा प्रेस स्वतन्त्रताको पक्षमा बोल्नेहरू सत्तामा पुगेपछि पत्रकारको कलमसँग डराउन थालेको टिप्पणी गर्दै साहले भनेका छन्, ‘पत्रकार सरकारका प्रवक्ता होइनन्, उनीहरूको काम सत्ताको प्रशंसा गर्नु होइन, सत्तालाई प्रश्न गर्नु हो।’
सरकारलाई चेतावनी दिँदै उनले प्रहरीको बुटले समाचार कक्ष थुन्न सकिए पनि जनताको आवाज बन्द गर्न नसकिने बताएका छन्।
उनले पत्रकारमाथिको धरपकड तत्काल रोक्न, घटनाको जवाफ दिन र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै साहले कलममाथि लाठी चलाएर लोकतन्त्र बलियो नहुने र प्रेसको मुख थुनेर सरकारका कमजोरी लुकाउन नसकिने बताएका छन्।