८ वर्ष ७ महिना वन संरक्षणमा खटिएका फरेष्टर पुरुषोत्तम पटेलसहित तीन कर्मचारीको बिदाइ, रौतहट जाँदै पटेल
स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:
रङ्गपुर सब–डिभिजन वन कार्यालयबाट तीन जना कर्मचारीको बिदाइ गरिएको छ। बिदाइ हुनेमा फरेष्टर पुरुषोत्तम पटेल, फरेष्टर श्रवणकुमार महतो र वन रक्षक देवानन्द कुर्मी रहेका छन्।

रङ्गपुर सब–डिभिजन वन कार्यालय पर्साकी प्रमुख यासमिन चौधरीको उपस्थितिमा आयोजित बिदाइ कार्यक्रममा सशस्त्र कमान्डर अर्जुनप्रसाद चौधरी, जमदार मनोज सिंह, रामअश्रय साह, वन रक्षकहरू कालीबहादुर रावत, राधिका विक, जमुना देवी बौडेल, जयकृष्ण महतारा, कमल विक तथा सवारी चालक अजय कुर्मीको सहभागिता रहेको थियो।

बिदाइ भएका फरेष्टर पुरुषोत्तम पटेलले डिभिजन वन कार्यालय पर्साअन्तर्गत करिब ८ वर्ष ७ महिना सेवा गरेका छन्। यस अवधिमा उनले सबैया क्षेत्रमा ५ वर्ष, रङ्गपुरमा २ वर्ष तथा बढनिहार, मानवा र बसन्तपुरमा समेत जिम्मेवारी सम्हालेका थिए।पटेलका अनुसार वन संरक्षणका क्षेत्रमा उनको सबैभन्दा बढी सक्रियता सबैया क्षेत्रमा रह्यो। त्यहाँ उनले काठ तस्करीविरुद्ध अभियान सञ्चालन गर्दै हजारौँ क्युबिक फिट चोरीको काठ बरामद गरेका थिए। काठ तस्करलाई घटनास्थलबाटै नियन्त्रणमा लिनुका साथै विभिन्न स–मिल, फर्निचर उद्योग तथा व्यक्तिका घरमा छापा मारेर अवैध काठ बरामद गरेको उनको अनुभव छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–३२ रामवनमा अवैध रूपमा सञ्चालन भइरहेको फर्निचर उद्योगबाट तीन थान मोटर, तीन थान विद्युतीय रन्दा तथा फर्निचर निर्माणमा प्रयोग हुने अन्य उपकरण जफत गरी अवैध गतिविधि बन्द गराएको पटेलले बताएका छन्।
बढनिहारमा कार्यरत रहँदा पनि उनले सब–डिभिजन वन कार्यालयका प्रमुख अनिलकुमार महतोसँग समन्वय गर्दै काठ तस्करी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्। चर्चित काठ तस्करीविरुद्धको कारबाहीदेखि बढनिहार–बिन्दवासनी कोइलाभार साझेदारी वनको निर्वाचन गराउने प्रक्रियामा समेत उनी सक्रिय थिए।
तर, उक्त निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा एमालेका कार्यकर्ताले उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा अधिकृत अनिलकुमार महतो र फरेष्टर पुरुषोत्तम पटेलविरुद्ध मुद्दा दायर गरेको विवरणसमेत उनले सुनाएका छन्।डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदका विश्वासपात्रका रूपमा परिचित पटेल अब उनकै मातहतमा रहेर काम गर्ने गरी रौतहट जाने भएका छन्।
वन संरक्षण, अवैध काठ कटानी तथा तस्करी नियन्त्रणमा लामो समय सक्रिय रहेका पटेलको बिदाइसँगै रङ्गपुर सब–डिभिजनका सहकर्मीहरूले उनको आगामी कार्यकालको सफलताको कामना गरेका छन्।