गढीमाई मेला सकियो, फोहोर उठेन! समिति र जनप्रतिनिधि कहाँ हराए?
जितपुरमा मेला सकिएको दिन बितिसक्दा पनि मन्दिर परिसर फोहोरले भरिएको छ। भक्तजन दुर्गन्धको मारमा, सरसफाइ गर्ने जिम्मेवारी कसको?
स्पर्श खबर जितपुर बारा कार्तिक ६ गते: जितपुरसिमरास्थित गढीमाई मन्दिरमा लागेको मेला सम्पन्न भइसके पनि मन्दिर परिसरको फोहोर अहिलेसम्म उठाइएको छैन। मेला सकिएपछि सरसफाइ गर्नुपर्ने जिम्मेवारीबाट मेला आयोजक समिति पन्छिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
मन्दिर वरिपरि जताततै फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ। दैनिक दर्शनका लागि आउने भक्तजनले समेत सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।

स्थानीय रमेश चौधरीले मेला लगाउने काम मात्र गरेर नहुने भन्दै मेला सकिएपछि सरसफाइ गर्नु पनि समितिको जिम्मेवारी भएको बताए। मेला सम्पन्न भइसकेपछि पनि फोहोर नउठ्नुले आयोजकको व्यवस्थापनमाथि प्रश्न उठेको उनको भनाइ छ।
त्यस्तै, स्थानीय रिना चौधरीले गढीमाई मन्दिरमा दैनिक भक्तजन दर्शन गर्न आउने भए पनि परिसर फोहोर र दुर्गन्धित हुँदा उनीहरूलाई असहज भइरहेको बताइन्।

यस विषयमा मेला समितिका अध्यक्ष सचिन गुप्तासँग सोध्दा आफूहरूले सरसफाइ गर्ने बताएका छन्। तर, फोहोर कहिलेसम्म उठाइन्छ भन्ने विषयमा भने स्थानीयले तत्काल काम सुरु भएको देख्न चाहेका छन्।

मेला लगाउने जिम्मेवारी लिने समिति र स्थानीय जनप्रतिनिधि अब कहाँ छन्? मेला सम्पन्न भएपछि मन्दिर परिसर सफा राख्ने जिम्मेवारी कसले लिने? भक्तजनको आस्था जोडिएको धार्मिक स्थललाई फोहोरको थुप्रोमा छाडेर कहिलेसम्म बस्ने?
स्थानीयले तत्काल फोहोर व्यवस्थापन गरी मन्दिर परिसर सफा गर्न सम्बन्धित समिति र जनप्रतिनिधिसँग माग गरेका छन्।