४ हजार ५ सय सदस्यलाई सहकारी र संरक्षण शिक्षा : सिदरिय टोलबाट अभियान तीव्र
स्पर्श खबर जितपुर बारा भदौ २४ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ र ७ अन्तर्गत सिदरिय टोलमा सहकारी तथा संरक्षण शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिमरा र पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिको संयुक्त आयोजनामा सुरु भएको अभियानअन्तर्गत मध्यवर्ती क्षेत्रका ६४ वटा बचत समूहमा आबद्ध करिब ४ हजार ५ सय सदस्यलाई सहकारी, बचत–ऋण तथा वन्यजन्तु संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिने भएको छ।
बुधबार जय श्री दुर्गामाई र चाँद बचत समूहमा आयोजित कार्यक्रममा जनकल्याण साकोसका उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक निरु बजगाईं अधिकारीको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले वन तथा वन्यजन्तु संरक्षणसँगै मध्यवर्ती क्षेत्रका उपभोक्ताको अधिकार र दायित्वबारे जानकारी गराउँदै संरक्षण अभियानमा स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताउनुभयो। संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको जोड थियो।
जनकल्याण साकोसका अध्यक्ष मधुसूदन सिटौलाले सहकारी शिक्षा वित्तीय अनुशासन र संस्थागत सुशासनका लागि महत्वपूर्ण रहेको बताउँदै बचत, ऋण, सहकारीको उद्देश्य तथा सदस्यले प्राप्त गर्न सक्ने सेवाबारे जानकारी गराउनुभयो।
प्रमुख अतिथि चौधरीले जनहित उपभोक्ता समितिको घुम्ती कोष तथा सहकारीमार्फत उपलब्ध ऋण सुविधाको अधिकतम उपयोग गरी स्थानीय समुदायले आर्थिक अवस्था सुधार गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा जनहित उपभोक्ता समिति, जनकल्याण साकोस, सामुदायिक वन तथा विभिन्न बचत समूहका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो। जय श्री दुर्गामाई बचत समूहका सचिव शम्भु रामले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जनकल्याण साकोसका सचिव रविन्द्र खकुरेलले सहजीकरण गर्नुभएको थियो।
आयोजकका अनुसार कार्यक्रम विभिन्न बचत समूहमा निरन्तर सञ्चालन हुनेछ। अभियानले मध्यवर्ती क्षेत्रका हजारौँ सदस्यलाई आर्थिक अनुशासनसँगै वन, वन्यजन्तु र वातावरण संरक्षणप्रति थप जिम्मेवार बनाउने लक्ष्य राखेको छ।