कम्युनिस्ट जनमत १५–१६ प्रतिशतमा झर्‍यो, आत्मसमीक्षा गर्दै वर्षमान पुनले भने– ‘अब वामपन्थीहरू मिल्नैपर्छ

कम्युनिस्ट जनमत १५–१६ प्रतिशतमा झर्‍यो, आत्मसमीक्षा गर्दै वर्षमान पुनले भने– ‘अब वामपन्थीहरू मिल्नैपर्छ’
स्पर्श खबर जितपुर बारा मंसिर ७ गते:

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिँदो समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गरेका छन्। उनले वामपन्थी शक्तिहरूबीच एकता वा कम्तीमा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।
भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौं साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले कुनै समय दुई तिहाइ बहुमतसम्म पुगेको कम्युनिस्ट जनमत अहिले १५–१६ प्रतिशतमा सीमित हुनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताए।
‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौं, अपडेट गर्न सकेनौं र मार्क्सवादलाई विकास गर्न सकेनौं भन्ने कुरा स्वीकार्नुपर्छ,’ पुनले भने।
उनले तत्काल पार्टी एकता सम्भव नभए पनि सरकार, संसद्, निर्वाचन र सडक संघर्षमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए।
‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो। सकिन्छ एकता, सकिँदैन कम्तीमा चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ पुनको भनाइ थियो।
पुनका अनुसार पछिल्ला दुई दशकमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, आर्थिक विकास र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपाली समाजको वर्ग संरचनामा ठूलो परिवर्तन ल्याएको छ। गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दै मध्यम वर्ग विस्तार भए पनि कम्युनिस्ट पार्टीहरूले नयाँ वर्गको चाहना र आकांक्षा बुझ्न नसकेको उनको स्वीकारोक्ति थियो।
युवा पुस्ताको बढ्दो प्रभाव, डिजिटल प्रविधिको पहुँच र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको बदलिँदो सोचलाई सम्बोधन गर्न नसक्दा कम्युनिस्ट आन्दोलनको आधार कमजोर बनेको उनले बताए।
उनले संविधान, गणतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका गैरवामपन्थी शक्तिहरूसँग समेत सहकार्य गर्नुपर्ने धारणा राखे।
यसैबीच पुनले विश्व पुँजीवादी व्यवस्था संकटमा रहेको दाबी गर्दै विश्व राजनीतिमा एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीयतातर्फ परिवर्तन भइरहेको बताए। अमेरिका र युरोपमा समेत वामपन्थी तथा समाजवादी विचारप्रति आकर्षण बढिरहेको उनको दाबी थियो।
आफ्नै जनमत खुम्चिएको स्वीकार गरेका पुनको अभिव्यक्तिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र आत्मसमीक्षा, नेतृत्वको रूपान्तरण र आगामी निर्वाचनमा वामपन्थी सहकार्यको बहसलाई फेरि सतहमा ल्याएको छ।