जीतपुरसिमरामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर, ५५० बढीले लिए सेवा

जीतपुरसिमरामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर, ५५० बढीले लिए सेवा
ग्रामीण बस्तीमै विशेषज्ञ चिकित्सकको सेवा, जोर्नी र ढाड–कम्मर दुख्ने बिरामीको चाप बढी
स्पर्श खबर जितपुर बारा मंसिर ८ गते

जीतपुरसिमरा उपमहानगरपालिका–१८ लामीडाँडामा आयोजित दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। शिविरबाट ५५० जनाभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।


ललितपुरको आयोजनामा बालबालिका आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा विभिन्न विदेशी विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श दिएको थियो। शिविरको उद्घाटन वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्लेले गर्नुभएको थियो।


बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको शिविरमा सामान्य रोग, दन्त समस्या, बालरोग, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरिएको थियो। त्यस्तै, ढाड तथा कम्मर दुख्ने, जोर्नी दुख्ने, आँखा सुख्खा हुने, छालामा दाग तथा बिमिरा आउने र पाइल्सका बिरामीले समेत विशेषज्ञ चिकित्सकबाट परामर्श लिएका थिए।
शिविरमा सामान्य रोग विशेषज्ञ डा. सुप्रिमा सिंह महर्जन र डा. अब्रिक मानन्धर, दन्त चिकित्सक डा. रितिका श्रेष्ठ तथा बालरोग विशेषज्ञ डा. चान इकेडा राक्वेल र डा. माइकल हिलीले सेवा प्रदान गर्नुभएको थियो।


चिकित्सक डा. अब्रिक मानन्धरका अनुसार शिविरमा आउने बिरामीमध्ये जोर्नी तथा ढाड–कम्मर दुख्ने समस्या भएका बिरामीको संख्या बढी थियो। मधुमेह, उच्च रक्तचाप र दाँतसम्बन्धी समस्या भएका बिरामी पनि उल्लेख्य संख्यामा आएका थिए।
स्वास्थ्य परीक्षणपछि बिरामीलाई आवश्यकताअनुसार न्यानो टोपी, पञ्जा, क्याप, दाँत माझ्ने ब्रस, मञ्जन तथा कम्मर दुखाइबाट राहत दिने बेल्टलगायत उपयोगी सामग्रीसमेत वितरण गरिएको आयोजकले जनाएको छ।
उद्घाटनका क्रममा वडा अध्यक्ष वाग्लेले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउनु महत्वपूर्ण भएको बताउँदै यस्ता शिविरले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउनसमेत आग्रह गर्नुभयो।
स्थानीय आशा राना मगरले गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा स्थानीयवासीलाई ठूलो सहजता भएको बताउनुभयो। उहाँले लामीडाँडासहित आसपासका बस्तीका नागरिकले समेत शिविरबाट लाभ लिएको उल्लेख गर्नुभयो।
सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा जानुपर्ने ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ५५० भन्दा बढीले सेवा लिनुले स्थानीयस्तरमा स्वास्थ्य सेवाको आवश्यकता र पहुँच विस्तारको महत्वलाई पुनः उजागर गरेको छ।