जितपुरमा महिलालाई आत्मनिर्भर बनाउने अभियान : ITC ओमेन्स ब्यूटी केयर तथा प्रशिक्षण केन्द्र सञ्चालनमा
स्पर्श खबर जितपुर बारा भदौ २४ गते:
जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गिरी मार्केटमा ITC ओमेन्स ब्यूटी केयर एण्ड प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।

केन्द्रको उद्घाटन जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरीले रिबन काटेर गर्नुभयो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिवजी साह सोनार, महासचिव प्रकाश गिरी, केन्द्रकी सञ्चालिका आशा दाहाललगायत सेवाग्राहीहरूको उपस्थिति थियो।
सञ्चालिका दाहालले यसअघि पनि महिलालाई लक्षित गरी विभिन्न समयमा निःशुल्क सीपमूलक तालिम तथा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।

केन्द्रले अब जितपुरसिमरा क्षेत्रका महिलालाई लक्षित गर्दै सिलाइ–कटाइ, ब्युटी केयरलगायत विभिन्न सीपमूलक तालिम निःशुल्क रूपमा सञ्चालन गर्ने जनाएको छ।
महिलालाई तालिम दिएर मात्र सीमित नराखी त्यसलाई रोजगारी र आयआर्जनसँग जोड्दै आर्थिक रूपमा सक्षम बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको सञ्चालिका आशा दाहालले बताउनुभयो।

सीप सिकौँ, आत्मनिर्भर बनौँ भन्ने अभियानसहित सुरु भएको केन्द्रले स्थानीय महिलाका लागि रोजगारी र स्वरोजगारको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।