पाँच वर्षमा वडा नं. १० मा के–के विकास भए ? जनताले वडाध्यक्ष संजय पटेलसँग प्रत्यक्ष प्रश्न गर्ने !

पाँच वर्षमा वडा नं. १० मा के–के विकास भए ? जनताले वडाध्यक्ष संजय पटेलसँग प्रत्यक्ष प्रश्न गर्ने !
स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा जनताको प्रश्न र जनप्रतिनिधिको जवाफ आमनेसामने हुने भएको छ। स्पर्श खबरको विशेष प्रस्तुति ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम भोलि मंसिर ६ गते बिहान ८ बजे वडा कार्यालय अगाडि आयोजना हुने भएको छ।
वडा नम्बर १० का वडाध्यक्ष संजय पटेलको अनुमतिमा आयोजना हुन लागेको कार्यक्रममा वडाध्यक्षको पाँचवर्षे कार्यकालमा भएका विकास निर्माण, जनताको समस्या, सेवा प्रवाह तथा वडाको समग्र उपलब्धिबारे प्रत्यक्ष संवाद गरिनेछ।
कार्यक्रममा स्थानीय नागरिकले आफ्ना गुनासा, प्रश्न र सुझाव खुलेर राख्न सक्नेछन् भने वडाध्यक्ष पटेलले जनताका प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ। पाँच वर्षको कार्यकालमा वडामा के–कति विकास भयो, जनताले कस्तो सेवा पाए र अझै कुन-कुन समस्या समाधान हुन बाँकी छन् भन्ने विषय कार्यक्रमको मुख्य केन्द्र रहनेछ।
कार्यक्रममा वडा नम्बर १० का सम्पूर्ण स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी, युवा, व्यापारी, खेलप्रेमी तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ऋषभ मिडिया प्रालिद्वारा सञ्चालित स्पर्श खबरले हरेक वडामा जनताको आवाज जनप्रतिनिधिसम्म पुर्‍याउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिरहेको कार्यक्रम संयोजक मनोज कुमार शाहले बताए।
यस कार्यक्रमले जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाउने र नागरिकलाई आफ्ना समस्या प्रत्यक्ष राख्ने अवसर प्रदान गरेको समाजसेवी घनश्याम गिरीले बताए। यस्तो कार्यक्रम प्रत्येक वडामा हरेक वर्ष हुनुपर्ने उनको भनाइ छ।
अब प्रश्न जनताको, जवाफ जनप्रतिनिधिको !
मंसिर ६ गते बिहान ८ बजे वडा नम्बर १० को वडा कार्यालय अगाडि उपस्थित भएर आफ्नो वडाको विकास र भविष्यबारे प्रश्न गर्न आयोजकले सम्पूर्ण वडावासीलाई आह्वान गरेको छ।