समाचार लेखेको रिसमा पत्रकारमाथि मुक्का ! जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रिएपछि प्रेस स्वतन्त्रता संकटमा
स्पर्श खबर जितपुर बारा जेठ ३१ गते। जनताको मतबाट निर्वाचित जनप्रतिनिधि कानुनको संरक्षक बन्नुपर्ने हो। तर, बारा जिल्लाको कोल्हबीमा भने एक जनप्रतिनिधिमाथि कानुन हातमा लिएर पत्रकारमाथि सार्वजनिक स्थलमै हातपातको प्रयास गरेको गम्भीर आरोप लागेको छ। यो घटना केवल एक पत्रकारमाथिको दुर्व्यवहार मात्र होइन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको खुला हमला हो।
कोल्हबी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष किसुन दयाल चौधरी ले आफूविरुद्ध समाचार प्रकाशित भएको विषयलाई लिएर बाराको गतिविधि अनलाइन का सञ्चालक तथा पत्रकार सुरेश विक्रम थापा माथि सार्वजनिक कार्यक्रममै आक्रोश पोख्दै ज्यान मार्ने धम्की दिएको तथा मुक्का प्रहार गर्न खोजेको आरोप सार्वजनिक भएको छ। प्रत्यक्षदर्शीका अनुसार उनले अपशब्द प्रयोग गर्दै पत्रकार थापामाथि जाइलाग्ने प्रयास गरेका थिए। घटनाका क्रममा लिफ्टमा समेत मुक्का प्रहार गरिएको बताइएको छ।
विडम्बना के छ भने, यो घटना कोल्हबी नगरपालिकाले आयोजना गरेको सहकारी तथा कोपोमिस सम्बन्धी सातदिने निःशुल्क तालिमको समापन समारोह जस्तो सार्वजनिक कार्यक्रममा भएको हो, जहाँ नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। यदि सार्वजनिक मञ्चमै पत्रकारमाथि यस्तो व्यवहार हुन्छ भने बन्द कोठाभित्र के हुन्छ भन्ने गम्भीर प्रश्न उठेको छ।
समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपाल, अदालत र कानुनी प्रक्रिया अपनाउने विकल्प हुँदाहुँदै जनप्रतिनिधि नै धम्की र बल प्रयोगमा उत्रिनु अत्यन्तै निन्दनीय र आपत्तिजनक विषय हो। जनताको प्रतिनिधि भएर गुण्डागर्दी शैलीमा प्रस्तुत हुनु लोकतान्त्रिक संस्कारमाथिको धब्बा हो।
पत्रकारहरू दुर्घटना, विपद्, अन्याय र भ्रष्टाचारका घटनामा सबैभन्दा अगाडि उभिएर समाजलाई सत्य सूचना दिन खटिन्छन्। तर, सत्य लेखेकै कारण पत्रकारलाई धम्क्याउने, कुट्न खोज्ने र त्रास सिर्जना गर्ने प्रवृत्ति बढ्नु लोकतन्त्रका लागि खतरा बन्दै गएको छ।
कलम रोक्न मुक्का उठाउनेहरूलाई चेतावनी छ— पत्रकार डराएर सत्य लेख्न छाड्दैनन्।
लोकतन्त्रमा समाचारको जवाफ समाचारले, तथ्यको जवाफ तथ्यले र असहमतिको जवाफ कानुनले दिनुपर्छ। मुक्काले सत्यलाई दबाउन खोज्ने मानसिकता स्वीकार्य छैन।
यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। यदि आज पत्रकारमाथिको आक्रमणमा राज्य मौन बस्यो भने भोलि जनताको बोल्ने अधिकारमाथि पनि यही मुक्का उठ्नेछ।यता वडा अध्यक्ष किसुन दायल चाैधरीले भने त्यस्तो केही नभएको बताए ।