मधेसमा खेलकुदको लहर : आठै जिल्लामा धमाधम प्रतियोगिता, खेल गतिविधिले पायो नयाँ गति
मनाेज शाह जितपुर बारा असार १ गते : मधेस प्रदेशमा यतिबेला खेलकुद गतिविधिले नयाँ उचाइ लिएको छ।

प्रदेशका आठै जिल्लामा विभिन्न विधाका प्रतियोगिता, प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन्। खेलकुदमार्फत युवालाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उद्देश्यसहित प्रदेशभर खेलमय वातावरण सिर्जना भएको छ।
मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताका अनुसार प्रदेशस्तरीय खेलकुद कार्यक्रमहरू तय गरिएको रुटिनअनुसार सञ्चालन भइरहेका छन्। प्रत्येक जिल्लामा फरक–फरक खेल विधाका प्रतियोगिता आयोजना गरी खेल प्रतिभाको खोजी र विकासलाई प्राथमिकता दिइएको छ।

सप्तरी जिल्लामा २०८३ साल जेठ २७ र २८ गते भारोत्तोलन, उसु र डोरितान प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। त्यसैगरी धनुषामा कराते, भलिबल, कप महिला क्रिकेट फुल कन्टेकलगायतका प्रतियोगिताहरू भव्य रूपमा सम्पन्न भएका छन्।
खेलाडी श्रीराम शाहका अनुसार महोत्तरी जिल्लामा टेबलटेनिस र ह्यान्डबल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
यता पर्सा जिल्लामा राष्ट्रिय कबड्डी प्रतियोगिता र मधेस क्रिकेट लिग सफलतापूर्वक सम्पन्न भएको जानकारी खेलाडी रमेश चौधरीले दिएका छन्।

साथै, स्वयंसेवक तालिम पनि प्रभावकारी रूपमा सम्पन्न भएको कसम लामाले बताए। विद्यालयस्तरीय अभिमुखीकरण तालिम अन्तर्गत अझै आठौं जिल्लाको कार्यक्रम बाँकी रहेको जनाइएको छ।
त्यसैगरी सर्लाहीमा आईटीएफ तेक्वान्दो र ब्याडमिन्टन, रौतहटमा महिला फुटबल, बारामा ताइक्वान्डो, खो–खो र बास्केटबल तथा पर्सामा जुडो र शारीरिक सुगठन प्रतियोगिता सिरहामा रग्बी , बृद्धिचाल आयोजना हुन बाँकी रहेको सदस्य सचिव गुप्ताले जानकारी दिए।
सदस्य सचिव शिवजी गुप्ताले मधेस प्रदेशका आठै जिल्लामा नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गरिने र हरेक जिल्लामा खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गर्न परिषद् प्रतिबद्ध रहेको बताए।
“मधेस अब केवल राजनीतिक बहसको केन्द्र मात्र होइन, खेल प्रतिभा उत्पादन गर्ने उर्वर भूमि पनि बन्दै गएको छ। प्रदेशका युवाको उत्साह र सहभागिताले मधेसको खेल भविष्य उज्यालो देखिएको छ,” उनले भने।