जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयनमा त्रिपक्षीय प्रतिस्पर्धा, बजारमा चुनावी चहलपहल

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयनमा त्रिपक्षीय प्रतिस्पर्धा, बजारमा चुनावी चहलपहल
मनोज शाह
जितपुर, बारा, जेठ ३१
जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्व चयनलाई लिएर बजार क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। अध्यक्ष पदका लागि मनोज गुप्ता, शिवजी शाह र गजेन्द्र कुमार गुप्ता प्रतिस्पर्धामा उत्रिएपछि व्यापारी समुदायमा चुनावी माहोल तातेको हो।
व्यापारी रमेश शाहले सहमतिको नाममा नेतृत्व बाँडफाँट गर्ने परम्पराको विरोध गर्दै नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने धारणा व्यक्त गरे। उनले नेतृत्व गर्ने क्षमता भएका व्यक्तिले चुनावमार्फत आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने बताए।
सङ्घका कार्यालय सचिव दिपेश यादवका अनुसार जितपुरसिमरा क्षेत्रमा करिब ३० हजार व्यापारी रहे पनि उद्योग वाणिज्य सङ्घमा जम्मा २ हजार ७ सय सदस्य दर्ता छन्। तीमध्ये ९ सय ५८ जनाले मात्र सदस्यता नवीकरण गरेका छन्। सदस्यता नवीकरणको न्यून सङ्ख्याले सङ्घप्रति व्यापारीहरूको आकर्षण र विश्वास घट्दै गएको संकेत गरेको देखिन्छ।
व्यापारी राम श्रेष्ठले व्यापारी समस्यामा पर्दा नेतृत्व सक्रिय नदेखिने तर चुनाव नजिकिँदा मात्र चासो देखाउने प्रवृत्तिका कारण धेरै व्यापारी निराश भएको बताए। यही कारण सदस्यता नवीकरण गर्नेको सङ्ख्या घट्दै गएको उनको भनाइ छ।
यद्यपि केही व्यापारीले सहमतिमै नेतृत्व चयन हुनुपर्ने धारणा राखेका छन्। व्यापारी सुरेश लामाले साझा संस्थामा सहमतिको संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अनावश्यक ध्रुवीकरणभन्दा सबै पक्षबीच समझदारी कायम गरी नेतृत्व चयन गर्नु संस्थाको हितमा हुने बताए।
व्यापारी शम्भु गुप्ताले चुनावी प्रतिस्पर्धा जति चर्किए पनि व्यापारीहरूको एकता कमजोर हुन नहुने धारणा व्यक्त गरे। बजार क्षेत्रमा अहिले नेतृत्व चयन र सङ्घको भावी दिशाबारे व्यापक चर्चा भइरहेको छ।
व्यापारी सञ्जय गुप्ताका अनुसार व्यापारीहरू व्यक्तिभन्दा पनि आफ्नो हकहितको संरक्षण, समस्या समाधान र संस्थाको प्रभावकारी भूमिकाप्रति बढी चासो राखिरहेका छन्।
उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन प्रक्रिया यतिबेला व्यापारीको अधिकार, संस्थाप्रतिको विश्वास र नेतृत्व क्षमताको परीक्षणका रूपमा हेरिएको छ। अध्यक्ष पदका लागि देखिएको त्रिपक्षीय प्रतिस्पर्धाले जितपुरसिमराको व्यापारिक क्षेत्रलाई थप सक्रिय बनाएको छ।