उपराष्ट्रपतिदेखि मन्त्रीसम्म आए, तर पसाहा खोलाको पुल अझै अलपत्र
मनाेज शाह जितपुर बारा जेठ ९ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा पर्ने पसाहा खोलामा निर्माण सुरु गरिएको पुल वर्षौंदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दा तथा यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन्।

स्थानीय राम दुलारी चौधरीका अनुसार पुल नबन्दा त्यस क्षेत्रका जनता दैनिक समस्या झेलिरहेका छन्। “यो क्षेत्रमा कयौँ नेता, मन्त्रीदेखि राष्ट्रपतिसम्म आए, तर यहाँका जनताले कहिल्यै सुख पाउन सकेनन्,” उनले गुनासो पोखिन्।
यस्तै, ट्रक चालक राम श्रेष्ठले पुल अभावका कारण आफूहरूलाई दैनिक २० किलोमिटर बढी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए। “अहिले त जसोतसो छ, तर असारमा पानी परेपछि पसाहा खोलामा भेल आउँछ, गाडी ओहोरदोहोर गर्नै सकिँदैन,” उनले भने।
विद्यालयका शिक्षक अर्जुन लाम्सालले पनि पुल नहुँदा विद्यार्थी र शिक्षक दुवै प्रभावित हुने गरेको बताए। “पानी पर्न थालेपछि खोलामा धेरै पानी आउँछ, विद्यालय आउजाउ गर्नै कठिन हुन्छ। पुल बनेपछि यो क्षेत्र गाउँ मात्रै होइन, सहरकै रूपमा विकास हुन सक्छ,” उनले बताए।
यता वडा नं. १७ का वडाध्यक्ष भीम लामाले पुल निर्माणका लागि पहल भइरहेको दाबी गरेका छन्। “हामीले पहल गरेका छौँ। यसपालिको बजेटमा माननीयज्यूले पनि बनाउने कुरा गर्नुभएको छ, अब हेरौँ के हुन्छ,” उनले बताए।
वर्षौंदेखि अलपत्र रहेको पसाहा खोलाको पुल निर्माण पूरा नहुँदा स्थानीय जनताले विकासका आश्वासन मात्रै सुन्नुपरेको भन्दै चाँडो काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।