अमलेखगञ्ज आयल डिपोमा मन्त्रीसहित उच्चस्तरीय अनुगमन
मनाेज शाह जितपुर बारा जेठ ९ गते :
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगम डिपोमा आज उच्चस्तरीय अनुगमन गरिएको छ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव कृष्ण बहादुर राउत तथा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहको टोलीले डिपो तथा पाइपलाइनको स्थलगत निरीक्षण गरेको हो।
अनुगमन टोली बा.२ झ ५०६६ नम्बरको सरकारी गाडीमार्फत अमलेखगञ्ज पुगेको थियो। निरीक्षणका क्रममा नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर अशोक साहले डिपोको अवस्था, इन्धन भण्डारण प्रणाली तथा पाइपलाइन सञ्चालन सम्बन्धी जानकारी गराउँदै टोलीलाई अवलोकन गराएका थिए।
अनुगमनका क्रममा इन्धन आपूर्ति व्यवस्थापन, सुरक्षा अवस्था तथा पाइपलाइनको प्रभावकारी सञ्चालनबारे समेत छलफल गरिएको बताइएको छ।