हरियाली प्रवर्द्धनमा दिल्ली पब्लिक स्कुलको पहल : जितपुरसिमरामा वृहत वृक्षारोपण सम्पन्न

हरियाली प्रवर्द्धनमा दिल्ली पब्लिक स्कुलको पहल : जितपुरसिमरामा वृहत वृक्षारोपण सम्पन्न

मनाेज शाह जितपुर बारा जेठ ९ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित शान्ति टोल खेलमैदानमा आज वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। दिल्ली पब्लिक स्कुलको आयोजनामा तथा शान्ति युवा विकास मञ्चको सहजीकरणमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।


कार्यक्रममा शान्ति युवा विकास मञ्चका अध्यक्ष अजय गुप्ता, सचिव अशोक दास तत्मा, सदस्य लालबाबु साह, नागेन्द्र सहनी, सल्लाहकार दीपक गुप्ता, धीरज शराफ, दिनेश शराफ लगायत क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


त्यसैगरी विद्यालयका शिक्षक रञ्जित कुमार चौधरी, दिलिप शाह, रितेश महतो तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
वृक्षारोपण कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका का नगर प्रहरी सुरक्षा केसीसहित नगर प्रहरी टोलीको बाक्लो उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति युवा विकास मञ्चका अध्यक्ष अजय गुप्ताले दिल्ली पब्लिक स्कुलले आयोजना गरेको वृक्षारोपण कार्यक्रम समाजका लागि अत्यन्तै उदाहरणीय र प्रेरणादायी रहेको बताए। उनले वातावरण संरक्षणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


त्यसैगरी वडा नं. ७ का वडा सदस्य नवीन मैनालीले विद्यालयले वातावरण संरक्षणका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै वृक्षारोपणले हरियाली प्रवर्द्धनसँगै वातावरण सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
स्थानीयवासी, युवा तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना फैलाउनुका साथै सामाजिक उत्तरदायित्वको सशक्त सन्देश दिएको आयोजकले बताएका छन्।