अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रह

अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रह
स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते:

अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्रका रूपमा होइन, समान अधिकार भएका नागरिकका रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ।


बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा नेत्रहीन युवा संघ नेपालको आयोजनामा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको आत्मसम्मान, अधिकार र गोपनीयताको सम्मान गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको हो।


संघ बाराका अध्यक्ष सुदीप चौधरीले समाचार, लेख तथा सम्पादकीय तयार पार्दा अपमानजनक शब्दावली प्रयोग नगर्न र अपाङ्गता भएका व्यक्तिलाई कमजोर वा दयाको पात्रका रूपमा चित्रण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले सामाजिक तथा धार्मिक क्षेत्रमा अझै पनि अपाङ्गता भएका व्यक्तिप्रति नकारात्मक सोच र व्यवहार कायम रहेको बताउनुभयो। विभिन्न संघसंस्थाको निरन्तर प्रयासले परम्परागत दृष्टिकोणमा सुधार हुँदै गएको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिका अधिकार, समस्या र सवाललाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो।


उहाँले अपाङ्गता भएका व्यक्तिको हकहितका लागि स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक निलु महर्जन, नेपाल नेत्रहीन संघका कोषाध्यक्ष सुनिल सिंह र नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले अपाङ्गता समावेशीकरण, सम्मानजनक शब्दावली तथा अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३ लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र समावेशितालाई सुनिश्चित गर्ने उद्देश्यसहित ‘सिमरा घोषणापत्र’ समेत सार्वजनिक गरिएको छ।