बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा एक युवक घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ

स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा गोलीको छर्रा लागेर ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका छन्।
सोमबार साँझ स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा उत्तमलाई छर्रा लागेको हो। घाइते मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ।
घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। प्रहरीले बन्दुक पड्काउने गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको छ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका मगरको साथबाट दुई नाल भरुवा बन्दुक बरामद गरिएको छ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाँदर धपाउने नाममा भरुवा बन्दुक पड्काउँदा निर्दोष व्यक्ति घाइते भएका छन्। सामान्य लापरबाहीले कसैको ज्यानै जान सक्ने भएकाले अवैध तथा जोखिमपूर्ण हतियार प्रयोगप्रति गम्भीर हुन आवश्यक छ।