दशौँ राष्ट्रिय खेलकुदका लागि बारा जिल्लास्तरीय सितोरियो कराते छनोट सम्पन्न, सयौँ खेलाडीको सहभागिता

दशौँ राष्ट्रिय खेलकुदका लागि बारा जिल्लास्तरीय सितोरियो कराते छनोट सम्पन्न, सयौँ खेलाडीको सहभागिता
मनाेज शाह जितपुर कार्तिक १४ गते:
‘खेली मधेस, जिती मधेस’ भन्ने नारासहित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि मधेस प्रदेशस्तरीय नेपाल सितोरियो कराते प्रतियोगिताको बारा जिल्लास्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ।


बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा जिल्लाका सयौँ महिला तथा पुरुष खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालय र मधेस खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिता नेपाल सितोरियो कराते संघ बाराका अध्यक्ष धनीलाल प्रसाद शाहको संयोजकत्वमा सम्पन्न भएको हो।


प्रतियोगितामा पुरुषतर्फ ५० केजीदेखि ८४ केजीभन्दा माथि तथा महिलातर्फ ४५ केजीदेखि ६८ केजीभन्दा माथिका विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रथम तथा द्वितीय घोषित भएका छन्।प्रतियोगिताको मुख्य निर्णायकमा रफिमिया अन्सारी रहेका थिए भने सहायक निर्णायकमा बुद्धिमान सेन्चुरी, अजय तामाङ र दीपा थापा मगर रहेका थिए।


त्यसैगरी प्रशिक्षकहरूमा सुनिल शाह, कलाम अन्सारी, सानु पटेल, श्रीराम शाह,सगर पटेल ,मेरुजुल असारी र मनोजकुमार शाहलगायतको सहभागिता रहेको थियो।
जिल्लास्तरीय छनोट प्रतियोगिताले राष्ट्रिय खेलकुदमा बारा जिल्लाको प्रतिनिधित्व गर्ने प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।