सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ! ‘आदेश दिने को हो?’ भन्दै खुश्बु ओलीको सरकारमाथि प्रश्न
काठमाडौं कार्तिक १४ गते:
सञ्चारगृहभित्र प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले राजनीतिक वृत्तमा प्रश्न उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री कार्यालयले घटनाबारे अनभिज्ञता जनाएको भन्दै सरकारमाथि कडा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने आदेश कसले दिएको हो भन्दै प्रश्न गरेकी छन्।
प्रधानमन्त्री कार्यालय नै घटनाबारे अनभिज्ञ रहेको अवस्थामा राज्यको सुरक्षा संयन्त्र कसको आदेशमा परिचालित भयो भन्ने विषय झन् गम्भीर भएको उनको भनाइ छ।
पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवारीबाट पन्छिने र प्रधानमन्त्री कार्यालय अनभिज्ञ रहने हो भने घटनाको जवाफदेहिता कसले लिने भन्दै उनले प्रश्न गरेकी छन्।
पक्राउ परेका पत्रकारहरू छुटिसकेको जानकारी दिँदै ओलीले घटनालाई सामान्य रूपमा लिन नहुने बताएकी छन्। विधिको शासनमा आदेश कार्यान्वयन गर्ने मात्र होइन, आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्ने उनको जोड छ।
पत्रकार पक्राउ परे, सरकार अनभिज्ञ बन्यो! अब प्रश्न एउटै छ—सञ्चारगृहमा प्रहरी पठाउने आदेश कसले दियो र जिम्मेवारी कसले लिन्छ?