जितपुरको कुलोमा ५५ वर्षीय पुरुषको शव फेला, घटनास्थलमा स्थानीयको भीड

जितपुरको कुलोमा ५५ वर्षीय पुरुषको शव फेला, घटनास्थलमा स्थानीयको भीड
स्पर्श खबर जितपुर बारा कार्तिक ४ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित एक कुलोमा बुधबार बिहान अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ।
स्थानीयका अनुसार मृतक जितपुर निवासी हरिनारायण सहनी (बिल्टु) हुन्।

उनी मंगलबार रातिदेखि घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो। बुधबार बिहान उनकी श्रीमतीले कुलोमा शव देखेपछि स्थानीयलाई खबर गरेकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको टोली घटनास्थल पुगेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको कमान्डमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउने प्रक्रिया अघि बढाएको छ।

घटनास्थलमा जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनिल गुप्तासहित स्थानीय बासिन्दाको बाक्लो भीड लागेको छ। शव कुलोमा फेला परेपछि स्थानीय क्षेत्रमा शोक र चासो छाएको छ।
मृत्युको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।