तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

तेस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

मनाेज शाह जितपुर बारा चैत १० गते:

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उपाधी साविक विजेता वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उचालेको छ । शक्ति युवा क्लबको आयोजनामा शनिबार भएको प्रतियोगीताको फाईनल खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई वीरगन्ज युनाईटेड क्लब वीरगन्जले ट्राईब्रेकरमा ४ –३ गोल अन्तरले हराएर उपाधी उचालेको हो ।
परवानीपुर खेल मैदानमा भएको फाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्जले हेटौडा फुटबल एकेडमी मकवानपुर माथी सुरु देखि खेलमा हाबि बन्दै अग्रता बनाएको थियो ।
खेलको पहिलो हाफको ३० औ मिनेटमा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका खेलाडी उदीत नारायण चौधरीले पहिलो गोल गरे ।
सुरुदेखि दबादमा रहेको हैटौडा फुटबल एकेडमी मकवानपुरले खेलको मध्यान्हमा दुई खेलाडी परिवर्तन गरेको थियो । खेलाडी परिवर्तन पछि पनि खेलको अन्तय सम्म दबाबमा रहेको हैटौडा फुटबल एकेडमीले खेलको ८५ औ मिनेटमा गोल फर्काएर खेलमा फर्किेएको थियो ।
उतm गोल हैटौडा फुटबल एकेडमीका खेलाडी सखिल गुरुङ्गले गरेका थिए । खेलको निर्धारित ९० मिनेटको खेलमा दुबै टिम १–१ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।
ट्राईबे्रकरमा हेटौडा फुटबल एकेडमीका पाँच जना खेलाडी मध्ये दुई खेलाडी गोल गर्न नसकेपछि पराजित हुन पुगेको हो ।
यस्तै ट्राईबे्रकर मै वीरगन्ज युनाईटेड क्लबका पाँच जना खेलाडी मध्ये चार खेलाडीले गोल जालीमा हानेका थिए । आजको खेलमा म्यान अफ दि म्याच हेटौडा फुटबल एकेडमी मकवानपुरका सखिल गुरुङ्ग घोषित भए । उनलाई सागर राणाले नगद सहित शिल्ड प्रदान गरेका थिए ।
प्रतियोगितामा विजेता बनेको वीरगन्ज युनाईटेड क्लब वीरगन्जले नगद दुई लाख एक हजार सहित शिल्ड पाएको थिए । विजेता टिमलाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले नगद सहित शिल्ड प्रदान गरेका थिए ।
यस्तै उपविजेता हेटौंडा फुटबल एकेडेमी मकवानपुरले एक लाख एक हजार सहित शिल्ड पाएको थियो । उपविजेतालाई वडाअध्यक्ष राधाकृष्णा साह रौनीयार र समाजसेवी नागमणी उपाध्यायले नगद सहित शिल्ड प्रदान गरेका थिए ।

विद्यागत पुरस्कार तर्फ विजेता टिम नै हावि

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको विद्यागत पुरस्कारमा पनि वीरगन्ज युनाईटेड क्लब वीरगन्ज नै हावि भएको छ ।
प्रतियोगीताको म्यान आफ दि सिरिज (उत्कृष्ट खेलाडी )वीरगन्ज युनाईटेड क्लबका अमर डंगोल बने । उनलाई राप्रपाका नेता रामेश्वर महतोले नगद सहित ईलेक्ट्रिक स्कुटी प्रदान गरेका थिए ।
यस्तै उत्कृष्ट गोल किपर पनि वीरगन्ज युनाईटेड क्लबका दिलमणी चौधरी घोषित भए । उनले नगद पाँच हजार पाएका हुन ।
प्रतियोगीताको बेष्ट डिफेन्डर वीरगन्ज युनाईटेड क्लबका संजय चौधरी घोषित भएका थिए । चौधरीले नगद पाँच हजार पाएका थिए । यस्तै बेष्ट मिडफिल्डर वीरगन्ज युनाईटेड क्लबका खेलाडी विपिन दुम्सी मगर बने । उनले नगद पाँच हजार पाएका हुन ।
यस्तै प्रतियोगीताको हाई स्कोरर वीरगन्ज युनाईटेड क्लबका खेलाडी उदीत नारायण चौधरी बने । उनलाई युनीटी क्लबका अध्यक्ष हेमन्त चौरसीयाले नगद पाँच हजार प्रदान गरेका हुन ।

प्रतियोगीता भरीमा उत्कृष्ट प्रशिक्षकको उपाधी वीरगन्ज युनाईटेड क्लब रामकिशोर धामीले पाए । उनले नगद पाँच हजार पाएका थिए । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा खेल समापन भएको थियो ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

मनाेज शाह जितपुर बारा चैत १० गते:
प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो ।

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए ।

पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।

उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयालले प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो ।

प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, जीतपुरसिमरा ३ की कार्यबाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, बरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

जीतपुरसिमरा क्रिकेट कपको उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

मनाेज शाह जितपुर बारा चैत ९ गते:
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो ।

मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।

रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २–२, समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे ।

भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २–२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

 

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

तेस्रो परवानीपुर गोल्डकप : महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा वीरगन्ज युथ एकेडेमी विजयी

मनाेज शाह जितपुर बारा चैत ९ गते:

तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगन्ज युथ एकेडेमीले ४-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा आजको पहिलो हाफको तेस्रो मिनेटमा वीरगन्ज युथ एकेडेमीकि खेलाडी सजिता स्याङतानले पहिलो गोल गरिन ।

खेलमा एक गोलले अग्रता बनाएको वीरगन्ज युथ एकेडेमीले खेलको २५ औं मिनेटमा दोस्रो गोल गर्यो ।
दोस्रो गोल पनि वीरगन्ज युथ एकेडेमीका सजिता स्याङतान नै गोल गरिन ।

सुरु देखि नै कमजोर रूपमा देखापरेको निजगढ फुटबल क्लबका खेलाडी माथि हाबी देखिएका वीरगन्ज युथ एकेडेमीका खेलाडी खेलको ४३ औं मिनेटमा थप एक गोल गरे ।

तेस्रो गोल वीरगन्ज युथ एकेडेमी कि सदिपा भोलेनले गरिन । लगातार गोल हानेका वीरगन्ज युथ एकेडेमीका खेलाडीले खेल्न सक्नु ५ मिनेट अगावै चौथो गोल गरेका थिए ।

चौथो गोल पनि वीरगन्ज युथ एकेडेमी कि सदिपा भोलेनले नै गरेकी हुन् ।

आजको खेलको म्यान अफ दि म्याच वीरगन्ज युथ  एकेडेमीका खेलाडी  सजिता स्याङतान घोषित भईन ।

उनलाई स्थानीय समाजसेवी हृदयनारायण यादवले नगदसहित शिल्ड हस्तान्तरण गरे ।

यसैबीच आजको मैत्रीपुर्ण खेलको दोस्रो स्थान हासिल गरेका निजगढ फुटबल क्लबलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता लोकेश सिंहले शिल्ड प्रदान गरे ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र वीरगन्ज युनाइटेड क्लब वीरगन्ज बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

जीतपुरसिमरा क्रिकेट क्लबः जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

मनाेज शाह जितपुर बारा चैत ८ गते:
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।

वर्षाका कारण एक दिन पछाडी सारिएको खेलमा जनकपुरले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन जोडेको थियो । जनकपुरका लागि हिमांशु दत्तले २५ बलमा ४७ रन बनाए । ओपनरका रुपमा आएका दत्तले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यसैगरी जनकपुरका लागि अखिलेश ठाकुरले २५, रुपेश यादवले अविजित १८, चन्दन यादवले १७ र पर्शुराम यादवले १४ रन बनाए । भैरहवाका सन्तोष यादवले चार विकेट लिए । चार ओभर बलिङ गर्दै यादवले २२ रन खर्चेर चार विकेट हात पारेका थिए । भैरहवाका अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए ।

जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले १७.६ ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्रै जोड्न सफल भयो । भैरहवाका लागि अमर मिश्रले २५, प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनिष थापाले १२ र निश्चल चौधरीले १० रन बनाए । अन्तिम विकेटका रुपमा रहेका महेश भार घाइते भएका कारण भैरहवाले ९ विकेटमै इनिङ समाप्तिको घोषणा गरेपछि जनकपुर ४८ रनले बिजयी भएको हो ।

जनकपुरका रुपेश यादव, रोहन यादव र अभिजित मण्लले समान दुई विकेट लिए भने बिशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले समान एक विकेट हात पारे । जनकपुरका कप्तान दत्त ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिईन् ।

जीतसंगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जिवित राखेको छ । पहिलो खेलमा मकवानपुरसंग ३१ रनले पराजित भएको जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जीत आवश्यक थियो ।

अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार मकवानपुरलाई फराकिलो जीत निकाल्नुपर्ने हुन्छ । अन्तिम खेलमा भैरहवा बिजयी भए रनरेटका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । तर मकवानपुरले जीत हात पारे समूह विजेता हुँदै उसले पर्सा क्रिकेट संघसंग फाइनल खेल्नेछ ।

आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबविरुद्ध जीत निकाल्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिता फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

 

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

मनाेज शाह जितपुर बारा चैत ८ गते:

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन ।

शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा
चैत १० गते शनिबार हुने फाइनलमा वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फुटबल एकेडेमी भिडन लागेका हुन ।

परवानीपुर खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई सडेन डेथमा १-० गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमीले निर्धारित समयमा २-२ गोलको बराबरी खेलेपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा दुबै टिमका पाँच – पाँच खेलाडी मध्ये तीन – तीन खेलाडीले गोल हान्दा दुई – दुई जनाले गोल गर्न सकेका थिएनन ।

त्यसपछि खेलको नतिजा सडेन डेथ मार्फत निकालिएको थियो । सडेन डेथमा वीरगन्ज युनाइटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई १-० गोल अन्तरले हराएको हो ।

खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका गोलकिपर दिलमणी चौधरी घोषित भए उनलाई पर्सागढी निवासी जितेन्द्र यादवले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको पहिलो सेमिफाइनल खेलमा प्रमुख अतिथि पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार थिए ।

यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुरले बाग्मती फुटबल क्लबलाई २-१ गोल अन्तर हराएर फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २७ औं मिनेटमा हेटौंडा फुटबल एकेडेमीका खेलाडी प्रकाश पुन पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेर अग्रता दिलाए ।

सुरु देखि रोमाञ्चक बनेको खेलको ३६ औं मिनेटमा फेरि दिवस श्रेष्ठले आफ्नो टिमको लागि दोस्रो गोल गरे ।

गोललाई फर्काउन निकै प्रयास गरेको बाग्मती फुटबल क्लबका खेलाडीले खेल सक्नु भन्दा झन्डै दुई मिनेट अगाडि एक गोल फर्काए ।

बाग्मती फुटबल क्लबका खेलाडी कपिल मगरले आफ्नो टिमको लागि पहिलो गोल गरेका थिए ।

आजको खेलको म्यान अफ दि म्याच हेटौंडा फुटबल एकेडेमीका कप्तान प्रताप तामाङ घोषित भए ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका मधेस प्रदेश कमिटीका सदस्य मोबिन आलमले नगद २ हजार १ सय सहित शिल्ड प्रदान गरे ।

शुक्रबार निजगढ महिला फुटबल क्लब र वीरगन्ज युथ महिला फुटबल टिम बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ ।

बुधबार भएको बर्षाका कारण खेल मैदानमा पानी जमेपछी स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीबार पहिलो चरणमा र बिहीबार हुने दोस्रो सेमिफाइनल खेल दोस्रो चरणमा गराइएको थियो ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए ।

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित
मनाेज शाह जितपुर बारा चैत ७ गते:

जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो ।

आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको बताए । बर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको शाहले जानकारी दिए ।

राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको हो ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा

मनाेज शाह जितपुर बारा चैत ६ गते:

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही  बिजयी भएको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भइरहेकोे खेलको पहिलो हाफको २३ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए ।

मगरले गरेको गोल फर्काउन निरन्तर प्रयास गरेपनि हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडी सकेनन् ।

एक गोलले अग्रता बनाएको बाग्मती फुटबल क्लब सर्लाहीले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

खेलको ६१ औं मिनेटमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर १८ का खेलाडी सुदिप मगरले दोस्रो गोल गरे ।

बाग्मतीका खेलाडी कपिल र सुदिपले गरेकै गोल नै अन्तिम सम्म बाग्मती फुटबल क्लब सर्लाहीको लागि निर्णायक रहयो ।

बाग्मती फुटबल क्लब सर्लाहीका खेलाडीले गरेको गोल हनामी भरतपुर फुटबल क्लब चितवनका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।

आजको खेलमा बाग्मती फुटबल क्लब सर्लाहीका जर्सी नम्बर २३ का खेलाडी कपिल मगरले म्यान अफ दि म्याचको पुरस्कार पाए ।

उनलाई परवानीपुर गाउँपालिका – ३ लिपनीमाल निवासी युवा राजेश सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे  ।
बुधबार हुने पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लब र वीरगन्ज युथ एकेडेमी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी थिए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक यादवले बताए ।

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्ष्तामा भएको खेलमा
प्रमुख अतिथि जसपा मधेस प्रदेशका सदस्य ओम प्रकाश बैठा थिए ।

 

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत
मनाेज शाह जितपुर बारा चैत ६ गते: जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो ।

मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ शानदार सतक प्रहार गरेका कंसकारले बलिङमा पाँच विकेट लिन सफल भए । उनको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा मकवानपुरले बिजयी सुरुवात गर्यो ।

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो । ओपनरका रुपमा मैदानमा आएका कंसकारले ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गर्दै १११ रन जोडेका थिए । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए ।

जनकपुरका अधिकांश बलर महंगो सावित भए । उसका लागि बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए । मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो ।

जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात गरेका थिए । उनिहरुले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । तर मकवानपुरका अशिम श्रेष्ठले ओपनर अंसारीको विकेट लिदै टिमलाई पहिलो सफलता दिलाएका थिए ।

अंसारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीत सहज बनिरहेको थियो । तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शुन्यमै आउट गरेका थिए ।

कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए । कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बुधवार जनकपुर र खुकुरी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा मकवानपुर, जनकपुर र भैरहवा छन् । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत्र १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

जीतपुरसिमरा क्रिकेट कपः कलैयाद्धारा आयोजक ९ विकेटले पराजित

मनाेज शाह जितपुर बारा चैत ५ गते:
जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।

आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।

कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।