जितपुरमा भव्य जल्सा हुने

जितपुरमा भव्य जल्सा हुने

मनाेज शाह जितपुर बारा फागुन ५ गते:

मुस्लिम समुदायका अगुवाहरुद्वारा जितपुरमा यही फागुन १८ गतेका दिन जल्सा भब्य रुपमा गर्ने तयारी भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरकाे नसिम नगरमा मदरसा इस्लामियाको माध्यमबाट हुन लागेको जल्साकाे तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । भब्य रुपमा आयोजना गर्न लागिएको जल्सामा सरिक हुने आगन्तुकहरुकाे लागि खाने, बस्ने व्यवस्था समेत गरिएको स्थानीय इरसाद अंसारीले स्पर्श खबरलाई बताए ।

महान उद्देश्यले जल्साको आयोजना गर्न लागिएको कुरा बताउँदै सो जल्सा अवधिमा दान तथा सहयोगको माध्यमबाट संकलन हुने रकमबाट जितपुर मदरसामा अध्ययन गरिरहेका अनाथ बालबालिकाहरुको लागि खाने, बस्ने सुविधासहितको भवन बनाउने उद्देश्य राखिएको स्थानीय समाजसेवी रफी अहमद अंसारीले स्पर्श खबरलाई बताए । भारत तथा नेपालबाट आउने मुकररिरहरुको प्रवचन सुनेर लाभ लिन समेत समाजसेवी रफी अहमद अंसारीले सम्पूर्णमा आग्रह गरेका छन् । जितपुर मदरसामा रहेका ९ जना बालबालिकाहरुले हफिजे कुरान पास गरेको मुफती अली असगरले जानकारी दिएका छन् । जल्सालाई भव्यरुपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गरिदिन जितपुरका सम्पूर्ण स्थानीय बासिन्दा तथा बुद्धिजीवीसँग जल्साका अध्यक्ष आयुव अंसारीले अनुरोध गरेका छन् ।

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा

जितपुरको एक मात्र खेलमैदान सम्भारकाे पर्खाइमा

मनाेज शाह जितपुर बारा फागुन ५ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरको शान्ति टाेलमा रहेको खेलमैदान यस क्षेत्रकै एकमात्र खेलमैदान हो तर दुर्भाग्यवश वर्षौंदेखि यो खेलमैदान सम्भारकाे पर्खाइमा रहेको छ । यस खेलमैदानमा क्रिकेट , भलिबल, फुटबललगायतका खेलहरु खेल्न विभिन्न उमेर समूहका खेलाडीहरु आउने गर्छन् । बारा जिल्लाको सदरमुकामकाे रुपमा तथा आर्थिक नगरीको रुपमा प्रख्यात रहेको जितपुरसिमरा उपमनपाको जितपुरमा एउटा पनि राम्रो खेलमैदान नरहेकोले शान्ति टोल खेलमैदान मात्रै एक विकल्प रहेको स्थानीय खेलाडी बिनाेद पासवानले स्पर्श खबरलाई बताए ।

लगभग साढे दुई कट्ठामा फैलिएको शान्ति टोलस्थित खेलमैदानमा समयसमयमा विभिन्न राजनैतिक, साँस्कृतिक, धार्मिक कार्यक्रमहरुको आयोजना भइरहन्छन् तर यसको संरक्षण तथा सम्भारको लागि कुनै पक्षले चासो दिएको छैन भन्दै स्थानीय युवा श्रीराम साहले दुखेसो पोखे । विभिन्न पक्षले आआफ्नो स्वार्थसिद्धिका लागि यसै खेल मैदानको प्रयोग गरे पनि स्वार्थ पूरा भएपश्चात यसको सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने तथा मर्मत सम्भार गर्नेतर्फ कसैको ध्यान नपुगेको गुनासो स्थानीयहरुको छ ।

विभिन्न कार्यक्रमको बेलामा बनाइएका खाल्डाखुल्डी समयमै नपुर्दा यहाँ खेल्न आउने खेलाडीहरुले चोट लाग्ने, खुट्टा मर्किने समस्याहरु भोग्दै आएका छन् । खेलमैदानको अवस्था राम्रो नभएको कारणले कयौं खेलाडीहरु घाइते भएको समेत स्थानीय खेलाडी बिनाेद पासवानले स्पर्श खबरलाई बताए । खेलमैदानको मर्मतसम्भार गर्नुपर्ने तथा यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने विषयमा अहिलेसम्म पनि यहाँको मेयर तथा वडा अध्यक्षले कुनै चासो वा सरोकार नराखेको खेलाडीहरुले स्पर्श खबरलाई बताए ।

जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान

जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान

मनाेज शाह जितपुर बारा फागुन ५ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७ जितपुरकाे मुख्य सडकमा सवारीसाधन चेकजाँच गर्न खटिएका नायब प्रहरी दीपक बस्नेतले कार्यथलोमै ट्राफिक नियमसम्बन्धी जनचेतना प्रदान गरेका छन् । उनले जितपुरकाे टेढाराेड चाैकमा आवतजावत गर्ने यात्री, अटाे रिक्सा चालकहरु तथा माेटरसाइकल चालकहरुलाई सवारीसाधन राम्रोसँग चलाउनुपर्ने सुझाव दिएका थिए । चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सबैलाई सचेत रही ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।

उनका अनुसार मानिसको मृत्यु तीन प्रकारले हुन्छन् : अकाल मृत्यु , आत्म मृत्यु तथा दुर्घटना मृत्यु र यीमध्ये गाडी दुर्घटनाबाट सबैभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको बस्नेतले बताए । माेटरसाइकल चालकले हेल्मेट लगाएन भने उसलाई नै घाटा हुन्छ तर यो कुरा उसले बुझ्दैन वा बुझेर पनि हेल्मेट लगाउने नगरेको गुनासो व्यक्त गर्दै हेल्मेट आफ्नै सुरक्षाको लागि हाे भन्ने बुझिदिएर नियमितरुपमा हेल्मेट प्रयोग गरिदिए चालकको ज्यान जोगिने कुरा नायब प्रहरी दीपक बस्नेतले बताउनुभयो । अलिकति लापरबाहीले गर्दा मानिसले आफ्नो अमूल्य जीवन गुमाउन पुग्दछ । बल्लतल्ल पाएको जीवनको महत्त्व बुझ्दै सडक दुर्घटना हुन नदिन तथा सावधानी अपनाउनका लागि ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन

मनाेज शाह जितपुर बारा फागुन ५ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जितपुर अन्तर्गतको मुख्य सडक छेउको दुबै साइडमा फुटपाथ निर्माण गर्ने क्रममा चरम् लापरबाही गरिएको छ ।

हालसालै निर्माण गरिएको फुटपाथ कामचलाउ ढङ्गमा नियम विपरीत बनाइएको सजिलै देख्न सकिन्छ । फुटपाथ निर्माणको क्रममा माथिल्लो निकायबाट सही ढङ्गले निरीक्षण तथा सुपरीवेक्षण हुन नसक्दा निर्माणको जिम्मा पाएको निकायले लापरबाही गर्दै कतै सडककाे तलबाट त कतै सडककाे माथिबाट फुटपाथ निर्माण गरेको छ । पैदल यात्रुलाई हिडडुल गर्न अप्ठ्यारो हुने गरी कतै नालाको माथिबाट त कतै नालाको तलबाट फुटपाथ निर्माण गरिएको छ । मान्छे हिँड्ने ठाउँ एक लेबल हुनु पर्ने हाे तर जहाँतहीँ असामान्य ढङ्गले तलमाथि हुने गरी फुटपाथ निर्माण भएको स्थानीय युवा सन्ताेष गुप्ताले स्पर्श खबरलाई दु:खेसाे पाेखे । यही फुटपाथको कारणले गर्दा लडेर कयौं जनाकाे हातखुट्टा भाँचिएको तथा चोटपटक लागेको पनि उनले स्पर्श खबरलाई बताए ।

जितपुरमा सुविधाजनक फुटपाथसहितको सडक छिटोभन्दा छिटो निर्माण गर्नकाे लागि जितपुरकाे ब्यापारी , क्लबहरुले कयौंपटक आन्दोलन पनि गरेका थिए । पथलैया , सिमरा , जितपुर र परवानीपुरकाे सडक निर्माण गर्ने टेण्डर एउटै मितिमा पास भएको थियो तर जितपुरबाहेक सबै ठाउँको सडक निर्माण, बत्ती निर्माण, नाला निर्माणको काम एकवर्ष अगाडि नै सम्पन्न भइसकेको थियो । जितपुरमा सडक निर्माणको काम यति ढिलाे सुरु गर्दा पनि हाल यहाँको सडक कतै खाल्टाे परेको त कतै भत्केकाे साथै फुटपाथको दयनीय अवस्था रहे पनि सम्बन्धित निकाय मौन बसेको छ । अहिले जितपुरकाे सडक निर्माणको काम सम्पन्न हुने अन्तिम तयारीमा पुगे पनि सडक बिभागद्वारा निर्माण गरिएको सडक, नाला, फुटपाथ नियमविपरीत लापरबाहीपूर्ण ढङ्गले बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।

 

महिलालाई सक्षम  बनाउन     तिन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु

महिलालाई सक्षम  बनाउन     तिन महिने नि:शुल्क सिलाई कटाई तालिम सुरु

मनाेज शाह जितपुर बारा ४ गते:

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८ मा तिन महिने सिलाईकटाई तालिम सुरु भएको छ । स्थानिय महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउनका श्रम बिकास नेपाल कलैयाको आयोजनामा बिहिवार देखी तालिम सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरको ४ लाख ९६ हजार को आर्थिक सहयोगमा संचालन भइरहेको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । जीतपुरसिमरा उपमहानगर वडा न ८ को अध्यक्ष शिवशंकर महतो कोईरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथी रहनुभएको थियो ।

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख अधिकारीले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिनुभयो ।“हामी सबैसँग क्षमता छ आँफूसँग भएको क्षमतालाई सकारात्मक पाटोमा प्रयोग गर्नुहोस्” नगर उपप्रमुख अधिकारीले भन्नुभयो, “अब क्षमता लुकाएर होईन प्रयोगमा ल्याएर आर्थिक विकासतर्फ लाग्नुहोस् ।”तालीम पश्चात ब्यवसायिकरुपमा उत्पादन भएका सामग्रीहरुले बजार नपाएमा जीतपुरसिमरा उपमहानगरपालिकाले सहजीकरणको ब्यवस्था मिलाउने नगर उपप्रमुख अधिकारीको भनाई थियो ।

संस्थागतरुपमा दक्ष कामदार उत्पादन गर्ने मुख्य उद्धेश्यले तीन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा अध्यक्ष शिवशंकर महतो कोईरीले बताउनुभयो ।
“महिला दिदीबहिनीहरुलाई सीप सिक्ने यो एउटा महत्वपूर्ण अवसरकोरुपमा मैले लिएको छु” अध्यक्ष कोईरीले भन्नुभयो, “तसर्थ तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा लागू गर्न सके आम्दानीको पाटोकोरुपमा विकास गर्न सकिन्छ ।”
उद्घाटन समारोहमा वडा सदस्य गङा पटेलले सिकाईलाई आर्थिक पक्षसँग जोड्नु आजको समयको माग भएको र तालिमको मुख्य उपलब्धी पनि सोही रहेको विचार ब्यक्त गर्नुभयो ।उक्त सिलाई कटाई तालिममा वडा सदस्य वडाका कर्मचारी संदेश सिंह लगाएत वडाका महिलाहरुको सहभागीता रहेको थियो ।

 

उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेस प्रदेश जितपुरमा 

उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेस प्रदेश जितपुरमा 

मनाेज शाह जितपुर बारा फागुन ३ गते 

 उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेश प्रदेशका बारा आइपुगेको छ । चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमिति अन्तरगतको संसदीय टोली बिहीबार बारा आइपुगेको हो ।
उखु खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि आवश्यक पर्ने बीउविजनको हालको अवस्था र गुणस्तर सुधारका लागि भउका प्रयासहरु, उखु किसानलाई अनुदान रकम भुक्तानी, हालसम्म भएका भुक्तानीका विवरण, भुक्तानी प्रक्रिया, उखु क्रसिंग र उत्पादनको विवरण, देखिएका समस्या र समाधानका उपायसम्बन्धी छलफल गरी योजनाबद्ध काम गर्नका लागि स्थलगत अध्ययन अनुगमनमा निस्किएको बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री तथा उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ किसानले बताउनुभयो ।

1708007308856
उहाँले उखु उतपादनका लागि पकेट क्षेत्र मानिने मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रहेका चिनी मिलहरु, उखु उत्पादन क्षेत्रहरुको स्थलगत अनुगमन गर्ने साथै स्थलगत अध्ययनका क्रममा उखु किसानहरु, चिनी उद्योगी व्यवसायीहरु, चिनी मिलमा कार्यरत मजदुरहरु र अन्य सरोकारवालासँग छलफ गर्ने कार्यक्म रहेको जानकारी दिनुभयो । बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्व रहेको भ्रमण टोलीमा साँसदहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव, सूर्यमान तामांग, कार्यालयका शाखा अधिकृत प्रविन राई र नासु नारायण बस्नेत रहनुभएको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको निरीक्षण

संसदीय टोलीले बाराको जीतपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको अध्ययन, अवलोकन तथा निरीक्षण गरेको छ । सो अवसरमा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक एवं बरिष्ठ वैज्ञानिक डा. दिलराज यादवले नेपालमा उखु अनुसन्धान र विकासको अवस्था तथा भावी कार्यनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मधेस प्रदेश कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका निर्देशक डा. विशेश्वर प्रसाद यादवको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, गणेश पराजुली, रामशंकर यादव, नेकपा एस का पर्सा जिल्ला संयोजक मनोज, उखु किसान महासँघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुरका सूचना अधिकारी एवं वैज्ञानिक जगतबन्धु अधिकारीले गर्नुभएको थियो ।

 

बीरगञ्ज चिनी मिलको स्थलगत अनुगमन
संसदीय टोलीले बिहीबार नै लामो समयदेखि बन्द बीरगञ्जको चिनी मिलको समेत स्थलगत अनुगमन गरेको छ । टोलीले स्थलगत अनुगमनका क्रममा चिनी मिलमा कार्यरत कर्मचारीको गुनासा, समस्याको सुनि गहन अध्यननसमेत गरेको बताइएको छ । चिनी मिलमा कार्यरत मजदुरहरुले संसदीय टोलीलाई चिनी मिलको अवस्थाको बारेमा जानकारी गराउँदै आफ्ना समस्या राखेका थिए ।

 

ललितले दिलाए नेपाललाई  सफलता

ललितले दिलाए नेपाललाई  सफलता

स्पर्श खबर जितपुर बारा फागुन ३ गते:

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिलो सफलता हात पारेको छ । ललित राजवंशीले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका हुन् ।नामिबियाले १ विकेटको क्षतिमा २७ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

नेकपा एसले तोक्यो विभिन्न नेताहरूको जिम्मेवारी

स्पर्श खबर जितपुर  बारा फागुन ३ गते:

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले संगठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी प्रदान गरिएको हो।

केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशंकर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन्।

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

मनाेज शाह जितपुर बारा फागुन २ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ अन्तर्गत जितपुरको मुख्य सडक तथा बजार क्षेत्रमा छाडा पशुवस्तुको बिगबिगीले गर्दा स्थानीय बासिन्दा, व्यापारी , ग्राहक लगायत आवतजावत गर्ने पैदल यात्री तथा यातायातका साधनहरुसमेतले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् ।सडक दुर्घटना हुने विभिन्न कारणहरुमध्ये जथाभावी सडकमा भेटिने छाडा चौपाया पनि एक हो । छाडा चौपायाको बढ्दो सङ्ख्या तथा यसको व्यवस्थापन पक्ष फितलो बन्दा मुख्य सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

दुध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले सडक दुर्घटना जस्तो विकराल समस्या बढाएको हो ।बाराको जीतपुरसिमरा उपमहानगरको जीतपुर चौकमा जुनसुकै बेला पनि छाडा चौपायाहरु सडकभरि देख्न सकिन्छ । यी चौपायाहरुकै कारण बाटो काट्दा दुर्घटना हुने जोखिम बढेको स्थानीयहरू बताउँछन् ।

सडक र बजारक्षेत्रमा छाडा रुपमा छोडिएका चौपायाहरुको व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैंले सचेतता देखाउनु राम्रो विकल्प हुने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा गाई धनीलाई बोलाएर सम्झाउने र नमानेको खण्डमा छाडा रुपमा सडकमा घुम्ने पशु चौपायलाई नियन्त्रणमा लिने उपमहानगरले जनाएको छ ।

जथाभावी बालीनाली नोक्सान गर्ने चौपाया तथा बजार एवम् सडक क्षेत्रमा छाडा छाडिएका चौपायाहरुलाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट असुल गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि सम्बन्धित निकायबाट अहिलेसम्म कुनै ठोस कदम चालिएको देखिँदैन ।

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ

मनाेज शाह जितपुर बारा फागुन २ गते

स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारमुलक सिप सिकाउने उदेश्यसहित बाराको सिमरामा सारथी स्वरोजगार तथा बजारीकरण संघको उद्घाटन भएको छ । जीतपुरसिमरा २ स्थित सिमरामा रहेको संघको कार्यालयको एक समारोहकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रदेशसभा सदस्य चौधरीले स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम दिने उदेश्यसहित स्थापना भएको संघबाट आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

बजारीकरण र प्रवद्र्धन हुन नसकेका कारण स्थानीय स्रोतसाधनको प्रयोगबाट हुने उत्पादन, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका हस्तकला बजारमा नदेखिएको भन्दै चौधरीले यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । चौधरीले घरमै बसेर पनि स्वरोजगार बन्न सकिने र आयआर्जन गर्न सकिने गरी संघले सिपको विकास गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

संघको उद्घाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्कर्मा, सीता गुरुङ, संघकी अध्यक्ष सरस्वतीदेवी चौधरीलगायतले मन्तब्य राखेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वउपप्रमुख समेत रहेकी चौधरीले स्थानीय स्तरमा सीपको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन अपरिहार्य रहेको बताउँदै ती उदेश्यसहित संघको स्थापना भएको बताईन् ।

संघले महिलाहरुलाई लक्षित गरि विभिन्न सीपमुलक तालिम गराउने, स्थानीय उत्पादनको प्रयोगबाट मानव जीवनको प्रयोगमा आउने सामाग्रीको निर्माण गर्न सीप सिकाउने, स्थानीय संस्कृति झल्काउने हस्तकलाको निर्माण गर्न तालिम दिने र ती स्थानीय उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने चौधरीले बताईन् ।