वडाध्यक्ष बन्ने आकांक्षामा नवीन मैनालीले दिए वडा सदस्यबाट राजीनामा
स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडा सदस्य नवीन मैनालीले आगामी स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बन्ने तयारीका साथ पदबाट राजीनामा दिएका छन्।

मैनालीले बुधबार उपमहानगरपालिका कार्यालय पुगेर नगरप्रमुख राजन पौडेलसमक्ष स्वेच्छिक राजीनामा बुझाएका थिए। उपमहानगरपालिकाले बिहीबार आवश्यक प्रक्रिया पूरा गर्दै २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको जनाएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका मैनाली केही महिनाअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। अब उनी आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाटै वडा नम्बर ७ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षीका रूपमा देखिएका छन्।

राजीनामा पत्रमा उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै कानुनी व्यवस्थाअनुसार पदबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन्।

वडा सदस्यको जिम्मेवारी पूरा गरेर वडाध्यक्षको दौडमा उत्रिने तयारी गरेका मैनालीको राजनीतिक कदमले जीतपुरसिमरा–७ को आगामी चुनावी समीकरणमा नयाँ चर्चा सुरु गराएको छ।