दलित समुदाय एकजुट नभएसम्म हक–अधिकार सुनिश्चित हुँदैन : पूर्व प्रदेशसभा सदस्य विश्वकर्मा
स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते:
दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, सामाजिक असमानता र अन्याय अन्त्य गर्न सम्पूर्ण दलित समुदाय एकजुट भएर आवाज उठाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

दलित सञ्जालका अध्यक्ष राजदेव पालवानको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले दलित समुदाय आफ्नो हक–अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्ने बताए।

प्रमुख अतिथि विश्वकर्माले भने, “हामी काम गर्न र समाजका हरेक सङ्घर्षमा अगाडि हुन्छौँ, तर आफ्नो हक–अधिकार माग्ने बेला पछाडि पर्छौँ। त्यसैले नेपालभरिका दलित समुदाय एकजुट भएर अगाडि बढ्नुपर्छ। एकताबद्ध भएर आवाज उठाए मात्रै हाम्रो हक–अधिकार सुनिश्चित हुन सक्छ।”
उनले फेटामा भएको गोलीकाण्डलगायतका घटनामा समेत दलित समुदायका व्यक्तिहरू अग्रपङ्क्तिमा रहेर योगदान दिएको उल्लेख गर्दै अधिकार र सम्मानका सवालमा पनि संगठित भएर अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा दलित सञ्जालका अध्यक्ष राजदेव पालवानले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै दलित समुदायमाथि अझै पनि विभिन्न क्षेत्रमा जातीय विभेद र असमानता कायम रहनु चिन्ताजनक भएको बताए। उनले विभेद अन्त्य, सामाजिक समानता र सम्मानजनक जीवनयापनका लागि सबै पक्षले जिम्मेवारीपूर्वक पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख गणेश नेपाली, पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक राम, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दयाकृष्ण भट्ट तथा अस्थायी ट्राफिक प्रहरी कार्यालय जीतपुरका इन्चार्ज महेश्वरकुमार पासवानलगायतको उपस्थिति थियो।
त्यसैगरी वडा नं. ३ की कार्यवाहक वडा अध्यक्ष माया विक, कार्यपालिका सदस्यहरू प्रभा पासवान, पवित्रा कार्की, पदीयार जी, अर्जुन रसाइलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू सहभागी थिए।
कार्यक्रम सञ्चालन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य इन्दल कुमार पासवानले गरेका थिए।