अपुरो अस्पताल उद्घाटनको अडानले फेटामा हिंसा! प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते, एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी
स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:
बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएको छ। अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र आधारभूत पूर्वाधार नै पूरा नभएको भन्दै स्थानीयले उद्घाटन रोक्न माग गरे पनि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आजै उद्घाटन गर्ने अडान लिएपछि झडप भएको हो।

स्थानीयका अनुसार अध्यक्ष अन्सारी समर्थकसहित उद्घाटनस्थल पुगेपछि दुई पक्षबीच तनाव चुलिएको थियो। विवाद नियन्त्रणमा लिन परिचालित प्रहरीले बल प्रयोग गर्नुका साथै हवाई फायर गरेको बताइएको छ।
प्रहरीको गोली लागेर अस्पतालमा मञ्च व्यवस्थापनको काम गरिरहेका अन्दाजी १३/१४ वर्षीय स्थानीय बालक अजित पासवान घाइते भएका छन्। स्थानीय पत्रकार राजु चौरसियाका अनुसार पासवानको पेटमा गोली लागेको हो। उनलाई उपचारका लागि वीरगञ्ज लगिएको बताइएको छ।

घटनापछि आक्रोशित स्थानीय युवाहरूले एक दर्जनभन्दा बढी मोटरसाइकलमा आगजनी गरेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ भने फेटाको अवस्था तनावग्रस्त बनेको छ।स्थानीय प्रशासनले परिस्थितिको संवेदनशीलता बुझेर तत्काल उद्घाटन कार्यक्रम रोक्न आग्रह गरेको भए पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको अडानका कारण विवादले उग्र रूप लिएको स्थानीयको आरोप छ।

प्रश्न गम्भीर छ—अस्पतालमा जनशक्ति र उपकरणको व्यवस्था नगरी उद्घाटन गर्न किन हतार गरियो? उद्घाटनको विवादमा १४ वर्षीय बालकको पेटमा गोली लाग्ने अवस्था कसरी आयो? सार्वजनिक सम्पत्तिमा आगजनी र बालकमाथि गोली प्रहारको जिम्मेवारी कसले लिने?
घटनाबारे प्रहरी तथा गाउँपालिकाको आधिकारिक धारणा आउन बाँकी छ। घटनाको निष्पक्ष छानबिन गरी गोली चलाउने अवस्था, घाइते बालकको उपचार र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी स्पष्ट गर्न आवश्यक देखिन्छ।