अमलेखगञ्जमा वृद्धलाई ठक्कर दिएर भागेका चालक पक्राउ, सडक अवरोध खुल्यो
बाराको अमलेखगञ्जमा वृद्धको ज्यान लिने पिकअप चालक पक्राउ परेका छन्। दुर्घटनापछि फरार चालकलाई प्रहरीले मकवानपुरको रातेमाटो चेकपोस्टबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१४ का ३४ वर्षीय विजयकुमार साह सोनार रहेका छन्।
आइतबार बिहान पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च १७७७ नम्बरको पिकअपले जीतपुरसिमरा–२२ निवासी करिब ६७ वर्षीय रामबहादुर थिङलाई अमलेखगञ्जमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
चालक गाडीसहित फरार भएपछि आक्रोशित स्थानीयले पक्राउको माग गर्दै सडक अवरुद्ध गरेका थिए। प्रहरीले चालक र पिकअप नियन्त्रणमा लिएपछि पथलैया–हेटौँडा सडकखण्डमा यातायात पुनः सञ्चालनमा आएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।