नागरिकको विश्वास जितेर अपराध नियन्त्रण गर्न आईजीपी कार्कीको कडा निर्देशन

नागरिकको विश्वास जितेर अपराध नियन्त्रण गर्न आईजीपी कार्कीको कडा निर्देशन
काठमाडौं असाेज ५ गते:

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको विश्वास र सहकार्यलाई केन्द्रमा राखेर नागरिकमैत्री प्रहरी सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै कार्कीले बदलिँदो सुरक्षा चुनौती सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा साझेदारी थप मजबुत बनाउनुपर्ने बताए।
उनले अपराधको प्रवृत्ति र जोखिम विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन, प्रमाणमुखी अनुसन्धान र प्रविधिको रणनीतिक प्रयोगमा जोड दिए।
विगतका घटना र अनुभवबाट पाठ सिक्दै सूचना संकलन तथा विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाएर सक्रिय रूपमा काम गर्न पनि उनले निर्देशन दिए।
कार्कीले योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले अपराध अनुसन्धान, प्रहरी प्रशासन, सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापन र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।