यूएन महासभामा नेपालको कूटनीतिक सक्रियता बढाउँदै परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा
न्युयोर्क । असाेज ५ गते:
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली टोलीको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै, विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
मन्त्री खनालको भ्रमणका क्रममा नेपालले आयोजना गर्ने ‘एभरेष्ट टु द सी’ शीर्षकको उच्चस्तरीय साइडलाइन बैठकसमेत महत्वपूर्ण कार्यक्रमका रूपमा रहनेछ। यसमार्फत नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना प्राथमिकता र चासोका विषय उठाउने तयारी गरेको छ।
खनालले महासभाका क्रममा विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा कूटनीतिक प्रतिनिधिसँग भेटवार्ता गर्दै द्विपक्षीय हित, आपसी सहकार्य र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नेछन्। परराष्ट्र मन्त्रालयले पनि मन्त्रीको मुख्य कार्यसूचीमा उच्चस्तरीय भेटवार्ता र मन्त्रीस्तरीय सहभागिता रहेको जनाएको छ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय जनरल डिबेट २२ देखि २८ सेप्टेम्बर २०२६ सम्म न्युयोर्कमा हुँदैछ। प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको औपचारिक नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्युयोर्क जानेछ।
नेपालको प्रतिनिधित्वलाई यसपटक बहुपक्षीय कूटनीति, उच्चस्तरीय भेटवार्ता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित गरिने भएको छ। महासभाको अवसरलाई नेपालले आफ्ना राष्ट्रिय प्राथमिकता र अन्तर्राष्ट्रिय चासोलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने मञ्चका रूपमा उपयोग गर्ने तयारी गरेको छ।