आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हार

आवासको अव्यवस्थाले थलियो नेपाल, कबड्डीमा थाइल्यान्डसँग ५९–४८ को हार
नागोया असाेज ६ गते:

२०औँ एसियाली खेलकुदमा आयोजक जापानको कमजोर आवास व्यवस्थापनको असर नेपाली खेलाडीको प्रदर्शनमा देखिएको छ। लामो हवाई यात्रापछि समेत समयमै आवास नपाएका नेपाली पुरुष कबड्डी खेलाडी थकित अवस्थामा मैदान उत्रिँदा थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएका छन्।
नेपालका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टका अनुसार टोली जापान पुगेको लामो समयसम्म खेलाडीले आराम गर्ने उचित व्यवस्था पाउन सकेनन्। दिउँसो २ बजे पुगेको टोलीका खेलाडीले राति ८–९ बजेतिर मात्रै आवास पाए र आराम गर्दा करिब ११ बजिसकेको थियो।
‘खेलाडी थाकेका थिए, रिकभरी पुगेजस्तो लागेन। आज शतप्रतिशत दिन सकेनन्,’ प्रशिक्षक भट्टले भने।
पहिलो हाफमा नेपाल थाइल्यान्डसँग २४–२८ ले मात्र पछि परेको थियो। तर दोस्रो हाफमा थाइल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै ३१ अंक जोड्दा नेपालले २४ अंकमै सीमित भयो। नेपालले रेडमा २९ र बोनसमा १८ अंक जोड्दा अलआउटबाट भने कुनै अंक लिन सकेन।
प्रशिक्षक भट्टले हारको कारण आवास व्यवस्थापन मात्र नभई नेपालको कमजोर डिफेन्स र छोटो तयारीलाई पनि मानेका छन्। उनका अनुसार नेपालले एसियाली खेलकुदका लागि दुई महिनामात्र तयारी गरेको थियो भने थाइल्यान्डले १४ महिनादेखि तयारी गरिरहेको थियो।
पाँच राष्ट्र रहेको समूह ‘बी’ मा पाकिस्तानले मलेसियालाई ६५–२२ ले हराइसकेको छ। अब नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेर सेमिफाइनल सम्भावना कायम राख्ने प्रशिक्षक भट्टको विश्वास छ।
यसैबीच, एसियाली खेलकुदमा सहभागी अन्य राष्ट्रका खेलाडीले पनि आयोजकको आवास व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। खेलाडी भिलेजको सट्टा कन्टेनर, अस्थायी काठका क्याबिन, होटल र क्रुज जहाजलाई आवासका रूपमा प्रयोग गरिएको छ। केही खेलाडी भुइँमै सुत्न बाध्य भएका तस्बिरसमेत सार्वजनिक भएका छन्।
सान्सौं, बक्सिङ, भलिबल र करातेमा पनि नेपाल निराश
एसियाली खेलकुदअन्तर्गत उसुको सान्सौं तथा थाउलो, बक्सिङ, महिला भलिबल र करातेमा पनि नेपालले खराब नतिजा बेहोरेको छ। उसुको महिला छाङ्छ्वानमा सुस्मिता तामाङ ९.५८० अंकसहित १३औँ भइन्।
सान्सौंको ६० केजीमा रिता ठकुल्ला तुर्कमेनिस्तानकी जोराएभा मेर्जेनसँग २–० ले पराजित भइन्। बक्सिङमा दानबहादुर दर्लामी इराकका वासी कसिम हामदानसँग ५–० ले हारे भने रोहित चुनारा र अमर सुनार पनि पहिलो राउन्डमै पराजित भए।
पदक दौडबाट बाहिरिसकेको महिला भलिबल टोली हङकङसँग ३–० ले पराजित भएको छ। करातेको महिला ६८ केजीमुनि निरूपा दोङ तामाङ पनि हङकङकी वाङ चुक्लीसँग ३–० ले पराजित भइन्।