संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलर

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलर
प्रभातफेरीदेखि दीप प्रज्वलनसम्मका कार्यक्रम गर्न निर्देशन
काठमाडौं असाेज १ गते:

नेकपा एमालेले संविधान दिवसलाई भव्य, उत्साहपूर्ण र रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन्।
महासचिव पोखरेलले संविधानको रक्षा र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउने गरी आ–आफ्नो क्षेत्र र स्तरमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। एमालेले संविधान दिवसका अवसरमा प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम आयोजना गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।
महासचिव पोखरेलद्वारा जारी पत्रमा भनिएको छ, “आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ।”
एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता सार्वजनिक गर्न आह्वान गरेको हो।
अब प्रदेशदेखि पालिकासम्मका एमाले कमिटीले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी थालेका छन्। पार्टीले संविधानको रक्षाको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई व्यवस्थित, भव्य र प्रभावकारी बनाउन निर्देशन दिएको जनाएको छ।