दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइने
स्पर्श खबर जितपुर बारा असाेज १ गते:
सडक विस्तारका क्रममा भत्काइएका संरचनाका भग्नावशेष र निर्माण सामग्रीले अस्तव्यस्त बनेको वीरगन्जको मुख्य सडक (मेनरोड) दसैँअघि नै सफा र व्यवस्थित बनाउने सहमति भएको छ।
वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच भएको छलफलमा दसैँअघि मेनरोड क्षेत्रलाई सफा, व्यवस्थित र आवागमन सहज बनाउने विषयमा सहमति भएको हो।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर दुर्गा प्रसादबीच भएको छलफलमा सडक विस्तारका क्रममा भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाउने विषयमा सहमति भएको बताइएको छ।दसैँ नजिकिँदै गर्दा बजार क्षेत्रमा चहलपहल बढ्ने भएकाले मेनरोडलाई व्यवस्थित बनाउन महानगरपालिका र सडक डिभिजन कार्यालयले सहकार्य गर्ने भएका छन्।
सडक विस्तारका क्रममा वीरगन्जको मेनरोड क्षेत्रमा रहेका अधिकांश घर तथा संरचना भत्काइएपछि सडक किनारमा भग्नावशेष र निर्माण सामग्री छरपस्ट अवस्थामा छन्। यसले पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा कठिनाइ हुनुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत असर परेको छ।
लामो समयदेखि अस्तव्यस्त बनेको मेनरोड दसैँअघि सफा र व्यवस्थित बनाउने सहमतिले स्थानीय व्यवसायी तथा सर्वसाधारणमा केही आशा जगाएको छ। तर, सहमति कार्यान्वयनमा कहिलेबाट काम सुरु हुन्छ र सडक पूर्ण रूपमा कहिलेसम्म व्यवस्थित हुन्छ भन्ने विषयमा स्पष्ट कार्यतालिका सार्वजनिक हुन बाँकी छ।