४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी

मनाेज शाह जितपुर असाेज १ गते:
जितपुरसिमराको मेयरमा मनोज पौडेल किन ? पार्टीमा लामो योगदान, नेतृत्व क्षमता र जनतासँगको सम्बन्धलाई आधार बनाउँदै टिकटको दाबी

नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल जितपुरसिमरा उपमहानगरपालिकाको मेयर पदका लागि चर्चामा छन्। पार्टीमा चार दशकदेखि निरन्तर सक्रिय रहेका पौडेलले आगामी निर्वाचनमा मेयरको टिकट पाउनुपर्ने दाबी बलियो बनाउँदै आएका छन्।
पौडेलले नेकपा एमालेमा आफ्नो राजनीतिक यात्रा वडा तहदेखि सुरु गरी क्षेत्र, जिल्ला हुँदै प्रदेश नेतृत्वसम्म पुर्‍याएका छन्। पार्टी निर्माण, संगठन विस्तार र राजनीतिक गतिविधिमा निरन्तर खटिँदै आएका उनी अहिले मधेस प्रदेश सचिवको जिम्मेवारीमा छन्।२०७४ र २०७९ मा पनि मेयरका आकांक्षी
मनोज पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि जितपुरसिमराको मेयर पदका आकांक्षी थिए। २०७९ सालमा समेत उनले मेयरको टिकटको दाबी गरेका थिए। तर, विभिन्न राजनीतिक समीकरण र पार्टीभित्रको टिकट वितरण प्रक्रियाका कारण उनको दाबीले मूर्त रूप लिन सकेन।
दुई निर्वाचनमा मेयरको आकांक्षा राखेर पनि उम्मेदवार बन्न नपाएका पौडेललाई पार्टीभित्र लामो समयदेखि योगदान गर्दै आएका नेताका रूपमा हेरिन्छ। यसपटक भने आफ्नै राजनीतिक अनुभव, संगठनमा पकड र जनतासँगको सम्बन्धका आधारमा टिकट पाउनुपर्ने आवाज उठिरहेको छ।
चुरियामाईदेखि परवानीपुरसम्म राजनीतिक पहुँच
जितपुरसिमरा उपमहानगरपालिका र आसपासका क्षेत्रमा पौडेलको राजनीतिक सक्रियता लामो समयदेखि रहँदै आएको बताइन्छ। चुरियामाईदेखि परवानीपुर तथा कलैयासम्मका जनतासँग सम्पर्कमा रहेर राजनीतिक गतिविधि गर्दै आएका पौडेलले स्थानीय तहका समस्या र जनताको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएको दाबी गर्छन्।
एमालेभित्र संगठन सञ्चालन, राजनीतिक समन्वय र नेतृत्वदायी भूमिकामा काम गरेको अनुभवलाई उनले मेयरको उम्मेदवारीका लागि मुख्य आधारका रूपमा अघि सारेका छन्।पढाइदेखि नेतृत्वसम्म सबल दाबी

शैक्षिक रूपमा समेत सक्षम मानिने पौडेलले राजनीतिक अनुभवसँगै अध्ययन र नेतृत्व क्षमतालाई आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गर्दै आएका छन्। पार्टीको वडा, क्षेत्र, जिल्ला र प्रदेश तहमा काम गरेको अनुभवले स्थानीय सरकार सञ्चालनमा सहयोग पुग्ने उनको दाबी छ।

स्थानीय तहमा विकास, सुशासन र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको एमालेका स्थानीय कार्यकर्ताहरूको धारणा छ। यद्यपि, आगामी निर्वाचनमा टिकट कसलाई दिने भन्ने निर्णय पार्टीको आन्तरिक प्रक्रिया र नेतृत्वको निर्णयमा निर्भर हुनेछ।
मालेले मनोज पौडेललाई टिकट दिनुपर्ने माग

चार दशकसम्म पार्टीमा निरन्तर सक्रिय रहेका, दुई पटक मेयरको आकांक्षा राखेका र प्रदेश नेतृत्वसम्म पुगेका पौडेलका लागि आगामी निर्वाचन राजनीतिक अवसरको रूपमा हेरिएको छ।

जितपुरसिमराको मेयर पदमा एमालेले मनोज पौडेललाई उम्मेदवार बनाउने कि अन्य आकांक्षीलाई अघि सार्ने भन्ने विषयमा पार्टीभित्र चासो बढेको छ। पौडेलका समर्थकहरूले भने उनको लामो राजनीतिक योगदान, संगठनात्मक अनुभव र जनतासँगको सम्बन्धलाई आधार बनाउँदै “यसपटक मनोज पौडेललाई नै मेयरको टिकट दिनुपर्छ” भन्ने माग अघि सारेका छन्।

अब एमाले नेतृत्वले जितपुरसिमराको मेयरका लागि उम्मेदवार छनोट गर्दा पौडेलको चार दशक लामो राजनीतिक यात्रालाई कसरी मूल्याङ्कन गर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।