देशकै दाेस्राे ठूलो सेजमा सुरक्षा संकट : ७ उद्योग सञ्चालन, १२ निर्माणाधीन, कर्मचारी जम्मा ३ जना !
दिनदहाडै चोरीको त्रास, छिनछिनमै विद्युत् कटौती, राति काममा आउँदा महिला कर्मचारी असुरक्षित
स्पर्श खबर जितपुर बारा भदौ ३० गते। देशकै तेस्रो ठूलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगहरू धमाधम निर्माण भइरहेका छन्। तर उद्योग विस्तारसँगै सुरक्षा, विद्युत् र व्यवस्थापनको समस्या पनि चुलिँदै गएको छ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित सेजमा अहिले ७ वटा उद्योग सञ्चालनमा छन् भने १२ वटा उद्योग पुनर्निर्माण भइरहेको सेजका इन्जिनियर अजय चौधरीले बताए।
यति ठूलो औद्योगिक क्षेत्रमा सरकारी कर्मचारी भने जम्मा तीनजना मात्र छन्। उद्योगीहरूले आफ्नै उद्योगका कर्मचारी तथा सुरक्षाकर्मी राखे पनि सेजको समग्र सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन सकेका छैनन्।
दिनदहाडै सामान चोरी, उद्योगी त्रासमा
एक उद्योगपतिले सेजभित्र दिनदहाडै मोटर तथा अन्य सामग्री चोरी भइरहेको गुनासो गरे।
“यत्रो ठूलो सेज छ, तर कर्मचारी नै छैनन्। दिनदहाडै हाम्रो मोटर सामग्रीहरू चोरी भइरहेका छन्,” उनले दुखेसो पोखे।
सेजमा एउटा मुख्य गेट रहे पनि चारैतिरबाट पर्खाल तोडेर मानिसहरू प्रवेश गर्ने र चोरी गर्ने गरेको उद्योगीहरूको गुनासो छ। आफ्नै उद्योगको सुरक्षा कर्मचारी राख्दा पनि समग्र सेजको निगरानी कमजोर रहेको उनीहरूको भनाइ छ।
प्राधिकरणका प्रमुख लुइटेलको जवाफ : तीनजना कर्मचारीले भ्याउँछ !
सेजको सुरक्षा र कर्मचारी अभावबारे विशेष आर्थिक क्षेत्र प्राधिकरण (SEZA) को मुख्य कार्यालय काठमाडौं, त्रिपुरेश्वरका प्रमुख दिवाकर लुइटेलसँग प्रश्न गर्दा उनले तीनजना कर्मचारीले काम धानिरहेको जवाफ दिए।
“तीनजना कर्मचारी छ, तीनजनालाई भ्याउँछ,” लुइटेलले भने।
तर उद्योगीहरूको प्रश्न भने फरक छ—यत्रो ठूलो सेजमा उद्योगहरू धमाधम निर्माण भइरहेका बेला तीनजना कर्मचारीले सुरक्षा, निगरानी र व्यवस्थापन सबै कसरी धान्ने ?
इन्जिनियर चौधरी : विभागले तीनजना मात्र पठाएको छ
सेजका इन्जिनियर अजय चौधरीले पनि हाल तीनजना कर्मचारी मात्र कार्यरत रहेको पुष्टि गरे।
“अहिलेसम्म सेजमा तीनजना कर्मचारी छौँ। विभागले तीनजना मात्र पठाएको छ,” चौधरीले भने।
प्राधिकरणका प्रमुखले तीनजना कर्मचारीले भ्याउने दाबी गरे पनि उद्योगीहरू भने चोरी, सुरक्षा र व्यवस्थापनको समस्याले त्रसित छन्।
छिनछिनमै विद्युत् कटौती, उद्योग सञ्चालनमा समस्या
नाम नछाप्ने सर्तमा एक उद्योग सञ्चालकले आफ्नो उद्योग ग्रेनाइट तथा टायल उत्पादनसँग सम्बन्धित रहेको बताउँदै विद्युत् समस्याले हैरान बनाएको गुनासो गरे।छिनछिनमै लाइन कट्छ। हामी कसलाई भन्ने ? कोसँग सोध्ने ? यहाँ सेजमा छुट्टै विद्युत् व्यवस्था भए राम्रो हुन्थ्यो,” उनले भने।
विद्युत् कटौतीका कारण उद्योग सञ्चालन प्रभावित भइरहेको भन्दै उद्योगीहरूले सेजभित्र छुट्टै विद्युत् व्यवस्थाको माग गरेका छन्।
राति काममा आउने महिला कर्मचारी डरमा
सेजमा काम गर्ने सरिता श्रेष्ठले सडकको छेउछाउमा रहेका ठूला झाडी तथा बिरुवाका कारण राति काममा आउजाउ गर्दा डर लाग्ने बताइन्।
“हामी राति–दिउँसो काम गरेर आउँछौँ। सडककै छेउछाउमा ठूला–ठूला झाडी र बिरुवा छन्। राति काममा आउँदा डर लाग्छ। कम्तीमा सरसफाइ गरिदिए हामीलाई सजिलो हुन्थ्यो,” उनले भनिन् । उद्योग विस्तार हुँदैछ, सुरक्षा व्यवस्थापन भने कमजोर !
सेजभित्र उद्योगहरू धमाधम निर्माण र पुनर्निर्माण भइरहेका बेला कर्मचारी अभाव, चोरी, विद्युत् कटौती र सरसफाइको समस्याले उद्योगी तथा मजदुरलाई प्रभावित बनाएको छ।
उद्योगीहरूले आफ्नै सुरक्षा कर्मचारी राखे पनि सेजको समग्र सुरक्षा व्यवस्थापन कमजोर रहेको गुनासो गरेका छन्। चारैतिरबाट पर्खाल तोडेर प्रवेश गर्ने र चोरी हुने अवस्था रहेको भन्दै उनीहरूले प्रभावकारी निगरानी र सुरक्षा व्यवस्था माग गरेका छन्।
देशकै तेस्रो ठूलो औद्योगिक सम्भावना बोकेको सेजमा उद्योग बढ्दै जाने तर सरकारी कर्मचारी तीनजना मात्रै रहने अवस्था कहिलेसम्म । उद्योगीको प्रश्न : तीनजना कर्मचारीले भ्याउँछ भने दिनदहाडै चोरी कसरी भइरहेको छ ?
उद्योग निर्माण गर्ने योजना बनाउने सरकारले उद्योगीको लगानी, मजदुरको सुरक्षा र सेजको समग्र व्यवस्थापनमा ध्यान दिनुपर्ने उद्योगीहरूको माग छ।
यत्रो ठूलो सेजमा तीनजना कर्मचारी मात्र राखेर सुरक्षा, सरसफाइ र व्यवस्थापन प्रभावकारी हुन्छ ? उद्योगीको लगानी सुरक्षित गर्ने जिम्मेवारी कसले लिने ? प्रश्न गम्भीर बनेको छ।