जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चा

जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चा
मनाेज शाह जितपुर बारा भदौ ३१ गते:

जितपुरसिमरा उपमहानगरपालिकाको आगामी मेयरका सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। नेकपा एमालेभित्र सरस्वती चौधरी, मनोज पौडेल, सुनिल गुप्ता र हरदेव खरेलको नाम सम्भावित दाबेदारका रूपमा चर्चामा आउन थालेको छ।


२०७४ सालमा उपमेयरको जिम्मेवारी सम्हालिसकेकी सरस्वती चौधरी २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गरेर पराजित भएकी थिइन्। नगरको राजनीतिक परिवेश र जनतासँगको सम्बन्धका कारण उनी अझै पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छिन्।नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल पनि मेयरको सम्भावित उम्मेदवारका रूपमा उदाउँदै छन्।

पार्टीभित्रको जिम्मेवारीसँगै जितपुरसिमराका जनताबीच उनको राजनीतिक पकडलाई लिएर चर्चा चुलिएको छ।
यस्तै, जितपुरसिमरा–७ का वडाध्यक्ष सुनिल गुप्ता पनि मेयरको दौडमा चर्चित नाम बनेका छन्। नगरभरिका जनता र युवामाझ लोकप्रिय रहेको दाबीका साथ उनको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
वडा नम्बर १६ का वडाध्यक्ष हरदेव खरेल पनि सम्भावित उम्मेदवारको चर्चामा छन्। जनतासँगको व्यवहार र स्थानीय तहमा देखिएको सक्रियताका कारण उनीप्रति पनि चासो बढेको बताइन्छ।


चारै जनाको चर्चा बढे पनि पार्टीले औपचारिक रूपमा कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने टुंगो लगाइसकेको छैन। आगामी निर्वाचनमा एमालेको उम्मेदवार चयनले जितपुरसिमराको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले नै चासोको विषय बनेको छ।

अब प्रश्न एउटै छ—जितपुरसिमराको मेयरका लागि एमालेले कसलाई अघि सार्ला?