काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो ५ सय मिटर तल खस्यो, ४ जनाको मृत्यु
मकवानपुर भदौ ३० गते:
काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको माइक्रो मंगलबार दिउँसो सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।
प्रहरीका अनुसार माइक्रोमा सवार ८ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
उद्धार गरिएका घाइतेमध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौं लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले बताए।
दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।