स्पर्श खबर जितपुर बारा भदौ २८ गते:
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित धर्मशाला अगाडि गणेश भगवानको भव्य मेला लाग्ने भएको छ। पूजा समितिका अध्यक्ष श्रीराम शाहले पत्रकार सम्मेलनमार्फत मेलाको तयारी तीव्र पारिएको जानकारी दिएका छन्।

१९ वर्षदेखि निरन्तर लाग्दै आएको गणेश भगवानको मेला यस वर्ष पनि भव्यताका साथ आयोजना गरिने अध्यक्ष शाहले बताए।
गणेश भगवानको पूजा भदौ २९ गतेदेखि सुरु हुने र सोही दिन बिहान ८ बजे बाजागाजा, हात्ती लगायतका झाँकीसहित भव्य शोभायात्रा निकालिने उनले जानकारी दिए।

सात दिनसम्म सञ्चालन हुने मेलामा भारत तथा नेपालका चर्चित गायक–गायिकाको सांस्कृतिक प्रस्तुति, ठूलाठूला पिङ, झुलुवा लगायतका मनोरञ्जनका साधन राखिनेछ।
मेलाको मुख्य आकर्षणका रूपमा दुई क्विन्टल अर्थात् ८० किलोको लड्डु बनाइने आयोजकले जनाएको छ। मेलामा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
पूजा समितिका अध्यक्ष शाहले गणेश भगवानको दर्शनसँगै भक्तजनलाई सांस्कृतिक कार्यक्रम र मनोरञ्जनको भरपूर आनन्द दिने गरी मेला आयोजना गर्न लागिएको बताए।