कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!

कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!
काठमाडौं भदौ २९ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन्।
आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको महत्वपूर्ण अवसर भन्दै पौडेलले सबै तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनमा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटक–पटक समय थप गरिएको र वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताए।
कांग्रेसले महाधिवेशनलाई ‘महाउत्सव’ का रूपमा लिएको भन्दै पौडेलले पार्टीभित्रका असहमति र चासोलाई संवाद तथा सहमतिबाट समाधान गर्न निरन्तर पहल भइरहेको बताए।