एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय

एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय
स्पर्श खबर जितपुर बारा भदौ २७ गते:

नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जीतपुरसिमरा उपमहानगर कमिटीको बैठक शनिबार सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न भएको छ।


नगर अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अच्युत मैनालीले संगठन सुदृढीकरण, पार्टी शुद्धीकरण र जनतासँगको सम्बन्ध बलियो बनाउन नेताकार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन दिए।


केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले गाउँ–गाउँ र टोल–टोलमा पुगेर एमालेलाई स्थानीय तहमा पहिलो शक्तिका रूपमा स्थापित गर्न संगठन निर्माणमा खटिनुपर्ने बताइन्।
मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलले पार्टी बलियो बनाउन वैचारिक स्पष्टता र संगठनात्मक अनुशासन आवश्यक रहेको उल्लेख गरे।
बैठकले आगामी असोज महिनाभित्र जीतपुरसिमरा उपमहानगरपालिकाका सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै अगुवा युवा कार्यकर्ताका लागि असोजमै अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको नगर अध्यक्ष शाहले जानकारी दिए।बैठकमा प्रदेश तथा जिल्ला तहका नेता, जनप्रतिनिधि, नगर कमिटी पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो। रसुवामा भएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइएको छ।


बैठकमा प्रदेश सदस्यमा मनोनित आनन्द थामी र इश्वर ढकाललाई बधाईसमेत ज्ञापन गरिएको थियो।