एमालेको मिसन पार्टी जागरण अभियान मधेसमा तीव्र : भदौ २३ गते प्रदेशस्तरीय अभिमुखीकरण
मनाेज शाह जितपुर बारा भदौ १९ गते:
नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम भदौ २३ गते आयोजना हुने भएको छ।
एमाले मधेस प्रदेश कमिटीको आयोजनामा धनुषाको लालगढस्थित गौतम होटलमा बिहान ११ बजे कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
पार्टी सुदृढीकरण, संगठन विस्तार तथा कार्यकर्तालाई थप सक्रिय र जुझारु बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशभरका प्रमुख नेता, पार्टी पदाधिकारी तथा जनप्रतिनिधिहरूको व्यापक सहभागिता रहने एमाले मधेस प्रदेश सचिव मनोज पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, पूर्वसांसद, पालिका कमिटी अध्यक्ष र जनसंगठनका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरू सहभागी हुनेछन्।
तल्लो तहसम्म संगठनलाई मजबुत बनाउँदै एमालेको राजनीतिक अभियानलाई थप धारिलो बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यो अभिमुखीकरणलाई मधेसमा पार्टीको संगठनात्मक शक्ति विस्तारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सचिव पौडेलले अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित सबै नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई कार्यक्रममा अनिवार्य सहभागिताका लागि आग्रह गरेका छन्।