भोटेकोसी बाढीपीडितका लागि सहयोग बढ्दै, राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

भोटेकोसी बाढीपीडितका लागि सहयोग बढ्दै, राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात
काठमाडौं भदौ २० गते :रसुवा तथा भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बन्दै गएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
सरकारले यसअघि उक्त कोषबाट एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा निकासा गरिसकेको छ।
कार्यालयका अनुसार ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ मौज्दात छ। साथै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको छ।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम अझै जारी रहेको सरकारको भनाइ छ।