भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

भोटेकोशी बाढीपीडितको स्वास्थ्य बुझ्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, १९ भदौ । भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका पीडितहरूको स्वास्थ्य अवस्था बुझ्न सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुग्नुभएको छ।


नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले अस्पताल पुगेर उपचाररत बाढीपीडितहरूको स्वास्थ्य अवस्था, उपचार व्यवस्थापन तथा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको हो।


मन्त्री तिमिल्सिनाले उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, उपचारका क्रममा देखिएका समस्या तथा अस्पतालबाट प्राप्त स्वास्थ्य सेवाबारे समेत जानकारी लिनुभएको थियो।
अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्। स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ।


अस्पताल प्रशासनले बाढीपीडितहरूको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत सबैले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराएको छ।
मन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न आग्रह गर्नुभयो। उपचारका क्रममा थप स्वास्थ्य सेवा, औषधि वा उपचार सामग्री आवश्यक परे सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट उद्धार गरिएका घाइते तथा प्रभावितलाई काठमाडौँ ल्याई विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सरकारले उद्धारपछिको उपचार र स्वास्थ्य व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।