साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ बने डीएसपी सुवास हमाल, हिंसा नियन्त्रणदेखि लागूऔषधविरुद्धको कारबाहीमा अब्बल प्रदर्शन

साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ बने डीएसपी सुवास हमाल, हिंसा नियन्त्रणदेखि लागूऔषधविरुद्धको कारबाहीमा अब्बल प्रदर्शन
विराटनगर भदौमा १० गते:

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।


उच्च मनोबल, साहस, अनुशासन र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेको मूल्याङ्कन गर्दै डीएसपी हमाललाई उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा विभिन्न समुदायबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। साउन २७ गतेसम्म संवेदनशील क्षेत्रमा निरन्तर प्रहरी परिचालन, निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र शान्ति–सुरक्षाको व्यवस्थापनमा प्रहरीले सक्रियता देखाएको थियो।
प्रहरीको सक्रियताकै कारण सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने आगजनी र तोडफोड रोक्नुका साथै थप जनधनको क्षति हुन नदिएको प्रदेश प्रहरी कार्यालयको मूल्याङ्कन छ। घटनामा मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कारका क्रममा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो।
त्यस्तै, डीएसपी हमालकै नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट २३.१३ ग्राम ब्राउन सुगरसहित लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरी सफल भएको थियो। भन्सार छली ल्याइएका कपडालगायत खाद्यान्न सामग्रीसमेत विभिन्न स्थानबाट बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको थियो।
प्रहरी सेवा प्रवाहमा अनुशासन, व्यावसायिकता र कर्तव्यनिष्ठा कायम गर्दै नागरिकमा सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा बढाउन उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्षसहित डीएसपी हमाललाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हिंसा नियन्त्रणदेखि लागूऔषध र अवैध कारोबारविरुद्धको अभियानसम्म प्रभावकारी नेतृत्व गरेको भन्दै डीएसपी हमालको कार्यसम्पादनलाई प्रदेश प्रहरीले उत्कृष्ट मानेको हो।