रसुवाको भीषण बाढीमा बाराका दुई युवक बेपत्ता, परिवारमा बढ्यो चिन्ता
स्पर्श खबर जितपुर बारा भदौ १० गते:
रसुवामा आएको भीषण बाढीमा परी बाराका दुई जना युवक बेपत्ता भएका छन्। रसुवास्थित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका–२ दोहोरीका सुदीप मण्डल बाढी आएयता परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।
नेपाल विद्युत् प्राधिकरणका पाँचौँ तहका कर्मचारी ३३ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा विगत एक वर्षदेखि कार्यरत ३३ वर्षीय यादव बुधबार बिहान करिब ९ बजे कोठामा खाना खाएर काममा निस्किएका थिए। त्यसपछि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन।
यादवकी पत्नी अनिशाका अनुसार बाढी आएको समयमा नै उनी अचानक सम्पर्कविहीन भएका हुन्। लामो समयसम्म कुनै खबर नआएपछि परिवारमा गहिरो चिन्ता छाएको छ। उनका साथी इन्जिनियर परवेज खानले समेत यादवको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताएका छन्।
त्यस्तै, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिक पदमा कार्यरत २७ वर्षीय सुदीप मण्डल पनि सोही समयदेखि बेपत्ता छन्।
सुदीपका भिनाजु अवधेश मण्डलका अनुसार उनले बुधबार बिहान करिब ७ः३० बजे आफ्ना बुवा बिकाउसँँग फोनमा कुराकानी गरेका थिए। कुराकानीका क्रममा रक्षाबन्धनका लागि घर आउने योजनाबारे समेत छलफल भइरहेको थियो। तर, कामका लागि बोलाइएपछि ‘पछि कुरा गर्छु’ भन्दै उनी निस्किएका थिए।
त्यसपछि सुदीपको मोबाइल फोन ‘स्वीच अफ’ रहेको र परिवारसँग कुनै सम्पर्क हुन सकेको छैन।
एकै जिल्लाका दुई युवक जलविद्युत् आयोजनामा कार्यरत रहेकै अवस्थामा भीषण बाढीपछि बेपत्ता भएपछि उनीहरूका परिवार, आफन्त तथा साथीभाइ गहिरो चिन्तामा परेका छन्। बेपत्ता दुवैको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी खोजी अभियान तीव्र बनाउनुपर्ने मागसमेत उठेको छ।