गरिमा चौधरी हत्या प्रकरणमा थप एक नाबालक पक्राउ, अनुसन्धानको दायरा फराकिलो
स्पर्श खबर जितपुर बारा भदौ ८ गते:
बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ।
आइतबार सिमरा आसपासको क्षेत्रबाट पक्राउ परेका ती बालक नाबालक रहेका कारण प्रहरीले उनको नाम, उमेर र ठेगाना सार्वजनिक गरेको छैन। उनी यसअघि पक्राउ परेका १६ वर्षीय नाबालकका साथी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार थप पक्राउ परेका बालकमाथि घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ। योसँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
यसअघि शव भेटिएकै दिन १६ वर्षीय एक नाबालक र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका थिए। त्यसपछि प्रहरीले प्रोग्रेसका परिवारका सदस्यसहित थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
साउन ३१ गते बिहान करिब ८ः३० बजे हराएकी गरिमाको शव तीन दिनपछि घरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा अर्धनग्न अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा बालिकामाथि बलात्कारपछि हत्या भएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गरिमा प्रोग्रेस चौधरीको पाँच वर्षीया छोरीसँग खेल्न गएको समयमा हराएकी थिइन्। बालिका प्रोग्रेसकै घरअगाडिबाट हराएपछि प्रहरीले घटनाको अनुसन्धानका क्रममा उनी र उनको परिवारलाई अनुसन्धानको दायरामा ल्याएको थियो।
घटनामा पक्राउ परेका १६ वर्षीय नाबालकले यसअघि गरिमामाथि बलात्कार गरी डोरीले घाँटी कसेर हत्या गरेको स्वीकार गरेको प्रहरीसमक्ष बयान दिएको बताइएको छ। तर आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनले घटनामा अर्का एक साथी पनि संलग्न रहेको दाबी गरेका छन्। ती साथीले समेत बालिकामाथि बलात्कार गरेको उनको दाबी छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोबारे प्रहरीले छुट्टै अनुसन्धान थालेको छ। प्रादेशिक अस्पताल कलैयास्थित ओसीएमसीमा गरिएको प्रक्रियाका क्रममा खिचिएको भनिएको भिडियो सामाजिक सञ्जालमा कसरी र कसले सार्वजनिक गर्यो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भिडियो सार्वजनिक भएको विषयमा जाँच भइरहेको बताएका छन्।
गरिमा हत्या प्रकरणमा थप एक नाबालक पक्राउ परेसँगै अनुसन्धानको दायरा अझ फराकिलो बनेको छ। प्रहरीले भिडियोमा गरिएको दाबी, पक्राउ परेका व्यक्तिहरूको बयान तथा घटनासँग जोडिएका सबै पक्षमाथि अनुसन्धान अघि बढाइरहेको जनाएको छ।