३८ दलित तथा विपन्न परिवारको घरमा अब पुग्नेछ उज्यालो, वडाले निःशुल्क विद्युत मिटर बाँड्यो
स्पर्श खबर जितपुर बारा भदौ ८ गते:
जीतपुरसिमरा उपमहानगरपालिका–१८ का लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित दलित तथा अति विपन्न परिवारको घरमा अब उज्यालो पुग्ने भएको छ। वडा कार्यालयले सोमबार ३८ जना दलित तथा अति विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको हो।

वडाध्यक्ष चतुरबाबु वाग्लेले लाभग्राहीलाई मिटर, एमसीबी र केबल तार हस्तान्तरण गर्नुभयो। वडास्तरीय आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्राप्त ३८ वटा निवेदनका आधारमा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको सहकार्यमा मिटर वितरण गरिएको वडाध्यक्ष वाग्लेले जानकारी दिनुभयो।
वडाका अनुसार मंगलबारदेखि सम्बन्धित लाभग्राहीको घरमै मिटर जडान गरिनेछ।
मिटर पाएपछि स्थानीय उमरावती देवी पासवानले लामो समयपछि आफ्नै घरमा बत्ती बाल्न पाउने भएपछि खुसी व्यक्त गर्नुभयो। आर्थिक अभावका कारण विद्युत जडान गर्न नसकेका आफूजस्ता परिवारका लागि निःशुल्क मिटर ठूलो राहत बनेको उहाँको भनाइ छ।

त्यस्तै, मिटर प्राप्त गर्नुभएका रमेश रामले वडा कार्यालयको सहयोगपछि अब आफ्नो घरमा उज्यालो हुने भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले विपन्न परिवारलाई लक्षित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।
वडाध्यक्ष वाग्लेले वडा कार्यालयमा निवेदन दिएका अन्य अति विपन्न तथा दलित परिवारलाई समेत क्रमशः निःशुल्क विद्युत मिटर उपलब्ध गराइने बताउनुभयो।
‘वडाभित्र कुनै पनि नागरिक उज्यालोबाट वञ्चित हुन नपरोस्’ भन्ने उद्देश्यसहित कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयको प्रतिबद्धता छ। निःशुल्क मिटर पाएपछि लामो समयदेखि अँध्यारोमा बस्दै आएका परिवारको घरमा अब विद्युतको उज्यालो पुग्ने भएको छ।